काठमाडौं । एमजी मोटर्सको सफल इलेक्ट्रीक ह्याचव्याक कार एमजी-४ को नयाँ जेनेरेशन मोडल बाहिर आएको छ । चिनियाँ नियामक संस्थाले नयाँ एमजी-४ को डिटेल सार्वजनिक गरेको हो ।
चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बजारमा कार आउनु अगाडि त्यसको डिटेल सार्वजनिक गर्छ । सरकारको स्वीकृति लिने समयमा कम्पनीहरुले सम्पूर्ण विवरण बुझाउनु पर्छ । त्यहि विवरण बाहिर आएको हो ।
पहिलोभन्दा ठूलो साइजमा तयार भएको एमजी-४ चिनियाँ बजारमा पनि बिक्री केन्द्रित हुने मिडियाहरुले उल्लेख गरेका छन् । अहिले बजारमा बिक्री हुँदै आएको एमजी-४ चीन बाहिर धेरै फोकस गरिएको थियो । सन् २००५ मा एसएआईसी ग्रुपले खरिद गरेसँगै एमजीका कार चीनमा उत्पादन भएर युरोपियन बजारमा बिक्री हुँदै आएका छन् ।
युरोपमा सर्वाधिक सफल ह्याचव्याक मध्येको एक एमजी-४ थाइल्याण्ड, नेपाल जस्ता देशमा पनि राम्रै चर्चा पाइरहेको मोडल हो । यसअघि ४२८७ एमएम लामो साइजमा उपलब्ध एमजी-४ को नयाँ जेनेरेशन मोडल ४३९५ एमएम लामो छ । यसको मतलव १०८ एमएम बढी लामो छ । कम्पनीले चौडाइ र उचाइ पनि बढाएर ल्याएको छ । ह्वीलवेस पनि ४५ एमएम लामो दिएको छ ।
यस बाहेक अगाडिको फेसिया, ढोका र पछाडिको भाग पुरै नयाँ डिजाइनमा देख्न सकिन्छ । एमजीले आफ्नो एमजी-३ ह्याचव्याक र स्पोर्टस् कार साइबरस्टरबाट धेरै कुरा लिएर यसलाई तयार पारेको अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसमा प्रयोग भएका लाइटहरु साइबरस्टरबाट लिएको देख्न सकिन्छ । कम्पनीले यसमा १२५ किलोवाटको मोटर र यसमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गर्नेछ । जुन पहिलेको भन्दा फरक केमेस्ट्रीमा छ । तर, ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
एमजीले आक्रमक मूल्यमा एस-५ एसयूभी बिक्री थालेर बजारलाई तरङगित बनाइरहेको अहिलेको समयमा एमजी-४ बारे आएको समाचार नेपालको लागि पनि महत्वपूर्ण हुन सक्छ । किनभने उत्कृष्ट मूल्य, फिचर, डिजाइन र पर्फमेन्सका बाबजुद एमजी-४ ले राम्रो ब्यापार पाउन सकिरहेको छैन ।

