विरासत जोगाउनै नसक्ने अवस्थामा अल्टो, यस्तो छ कारण

काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गरेको अल्टो नेपालीको लागि नयाँ नाम होइन । मारुती ८००, मारुती सुजुकी अल्टो ८०० हुँदै अल्टो के–१० नाममा परिणत भएको कार नेपाली बजारमा आफ्नो विरासत जोगाउन नसक्ने अवस्थामा पुगेको छ ।

सीजी मोटोकर्पले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको अल्टो के–१० को मूल्यमा चीनमा उत्पादन भएका एकसे एक इलेक्ट्रीक ह्याचव्याक कार किन्न पाइन्छ । मूल्यकै कारण अल्टोको ४० वर्षको विरासत गुम्ने अवस्था सृजना भएको हो ।

अहिले अल्टो के–१० विभिन्न ५ भेरियन्टमा बजारमा उपलब्ध छ । जसको मूल्य एकै पटक ठूलो अन्तरले वृद्धि भएको छ । चिनियाँ बजारबाट आउने ईभीको मूल्य घट्दो क्रममा हुनु र पेट्रोल कारको कर धेरै तथा मूल्य लगातार वृद्धि हुँदा नेपालमा पनि मूल्य बढेको हो ।

अल्टो के–१० ह्याचव्याक कारको मूल्य अन्य ब्राण्ड बिक्री गरेको सब फोर मिटर एसयूभी सरह नै पुगेको छ । निसान म्याग्नाइट एसयूभी नै ३५ लाख ७५ हजार मूल्य राखेर बिक्री भइरहेको छ । तर, अल्टो के–१० को टप भेरियन्ट किन्न ३४ लाख ४९ हजार रुपैयाँ तिर्नुपर्छ ।

साइजमा कम्प्याक्ट, डिजाइनमा पुरातन र फिचर पनि लगभग नगन्य मात्रै रहेको अल्टो के–१० अब उपभोक्ताको रोजाइमा पर्न छाडेको छ । भारत मै पनि यसको बिक्री निरन्तर ओरालो लागि रहेको छ । यस्तोमा धेरै छनोट उपलब्ध र ईभीमय भएको नेपाली बजारमा यसले आफ्नो विरासत कायम राख्नै मुस्किल देखिन्छ ।

भेरियन्ट अनुसारको मूल्य

विभिन्न ५ भेरियन्टमा अहिले बिक्रीको लागि उपलब्ध अल्टो के–१० एलएक्सआईको मूल्य २८ लाख ४९ हजार छ । यो नै सबैभन्दा सस्तो भेरियन्ट हो । त्यस्तै भीएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, भीएक्सआई प्लस भेरियन्टको ३० लाख ९९ हजार, भीएक्सआई एजीएस भेरियन्टको ३३ लाख ४९ हजार र टप भेरियन्ट भीएक्सआइ प्लसको ३४ लाख ४९ हजार तिर्नुपर्छ ।

यदि, तपाई अल्टोको अटोमेटीक भेरियन्ट चढ्न चाहनु हुन्छ भने पनि कम्पनीले ल्याइदिने छ । त्यसको मूल्य भने ३४ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

इन्जिन र गियरबक्स

अल्टो के–१० मा १.० लिटर इन्जिन उपलब्ध छ । उक्त इन्जिन सुजुकीको के सिरिज ड्यूल जेड, ड्यूल भीभीटी, थ्री सिलिण्डर हो । ९९८ सीसी क्षमताको उक्त इन्जिनले ६६.६२ पीएस पावर र १२१ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा ५ स्पीड म्यानुअल र अटोमेटीक गियरबक्स उपलब्ध छ । यसको इन्जिन निकै राम्रो माइलेज दिन सक्षम छ । एआरएआईले प्रतिलिटर २४ किलोमिटर प्रमाणित गरेपछि १८ किलोमिटर हाराहारी सडकमा चलाउँदा नै पाउन सकिनेछ ।

 


Back_to_top