काठमाडौं । अन्ततः अमेरिकी इलेक्ट्रीक भेहिकल स्टार्टअप कम्पनी फिस्करले बैंकरप्सी प्रोटेक्सन फाइल गरेको छ । नयाँ लगानीकर्ताको खोजीमा रहेको कम्पनीले गत सोमबार बैंकरप्सी फाइल गरेको हो ।
बढ्दो प्रतिपर्धा र बिक्रीमा आएको कमीका कारण यसअघि पनि अमेरिकी ईभी कम्पनीहरू प्रोटेरा, लड्सटाउन तथा इलेक्ट्रीक लास्ट माइल सोलुसन जस्ता कम्पनीहरूले बैंकरप्सी फाइल गरेका थिए ।
फिस्करको स्थापना टेस्लाको डिजाइन कन्सल्ट्यान्ट तथा अटोमोबाइल डिजाइनर हेन्रिक फिस्करले गरेका थिए । फिस्करको अन्तिम समयसम्म पनि निसानसँग ३५० मिलियन डलर लगानीका लागि वार्ता भइरहको थियो । तर, निसानसँग सम्झौता नभएसँगै अब बन्द हुने पक्का भएको हो ।
फिस्करका अनुसार अन्य कम्पनीहरू जस्तै ईभी इन्ड्रस्टीले पनि विभिन्न प्रकारका मार्केट र माइक्रोइकोनोमीको प्रभावका कारण अपरेशन चलाएमान बनाउन नसकेको जनाएको छ । अमेरिकाको डेलावेरमा गरिएको च्याप्टर ११ बैंकरप्सी फाइलिङ अनुसार फिस्कर इंकसँग ५०० मिलियनदेखि १ बिलियनसम्मको एसेट्स र १०० मिलियनदेखि ५०० मिलियनसम्मको दायित्व देखिएको छ ।
फिस्करले एडप, अल्फाबेट, गुगल र स्याब जस्ता २० वटा ठूला कम्पनीहरूलाई पैसा तिर्न बाँकी रहेको बताएको छ ।
हेन्रिक फिस्कलरे आफ्नो कम्पनीलाई अटोमोबाइलको एप्पल बनाउने बताएका थिए । उनले कारको म्यानुफ्याक्चर मोबाइलको जस्तै आउटशोर्स गर्ने योजना अगाडि सारेका थिए ।
सन् २०२० मा पब्लिकमा जाँदा फिस्करको बजार मूल्याङ्कन २.९ बिलियन डलर थियो । त्यतिबेला कम्पनीसँग १ बिलियन डलरभन्दा धेरै नगद थियो । फिस्करले यसअघि पनि सन् २०१३ मा बैंकरप्सी फाइल गरेको थियो ।
त्यतिबेला फिस्करको कर्मा हाइब्रिड मोडलको ब्याट्री फेल भई रिकल गर्नुपरकोे थियो । त्यस्तै, पछिल्लो समयमा लन्च भएको फिस्कर ओसियन एसयूभीमा पनि विभिन्न प्रकारको हार्डवेयर र सफ्टवेयरमा समस्या देखिएका थिए । ओसियन एसयूभी अझै पनि डिलरहरूको स्टकयाडमा ५ हजार युनिटभन्दा बढी संख्यामा रहेको छ ।


