‘अन्नपूर्ण’को परीक्षण उडान सफल, यहि १६ गतेदेखि व्यबसायीक उडान

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । 

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए । सो उडानलाई निगमले ‘प्रुभिङ् फ्लाइट’ नाम दिएको छ । 

गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाएको प्रवक्ता श्रेष्ठले बताए । 

निगमले वाइडबडी ए ३३०-२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ)ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्था गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइडबडी जहाजले आज त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । 

परीक्षण उडानमा कुनै यात्रु भने बोकिएको थिएन । परीक्षण उडान सफल भएपछि मात्रै व्यावसायिक उडान गर्ने गरी तालिका तय गरिने निगमले जनाएको छ । निगमले यही साउन १६ गते पहिलो व्यावसायिक उडान गर्नेछ । परवक्ता श्रेष्ठले दुबईबाटै पहिलो व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको जानकारी दिए । 

जहाज आएको एक महिनाभित्र सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गरिएको हो । यस्तै निगमको दोस्रो वाइडबडी जहाज यही साउन ११ गते काठमाडौँ आइपुग्दै छ । 


Back_to_top