विशेष प्रकाशकीय : अटोमोबाइलमा अभूतपूर्व ७ वर्ष

वैशाख १ गते हामी सबैको विशेष दिन । ८ वर्ष अगाडि त्यही विशेष दिनलाई थप विशेष बनाउन हामीले मेरोअटो डट कमको सुरूआत गरेका थियौं । हाम्रो टीम लामो समय आर्थिक पत्रकारितामा अभ्यस्त थियो । बैंकिङ, बीमा, कर्पोरेट, पर्यटन, कृषि जस्ता विधामा समाचार लेख्दै आएका साथीहरू मिलेर मेरोअटोको सुत्रपात भएको थियो ।

विगत ७ वर्षको दौरान हामीले धेरै कुरा सिक्न पायौं । सुरूआती दिनमा गाडीको ह्वीलबेस, मोटरसाइकलको स्लिपर क्लच र ईभीको पावर पनि प्रष्टसँग बुझ्न नसक्ने हामी आज ८ वर्षमा प्रवेश गरेका छौं । यसबीच कोभिड १९ को महामारीदेखि चरम आर्थिक संकटबाट हाम्रो अर्थतन्त्र गुज्रियो । समस्या नै समस्याको बीचमा ७ वर्ष पूरा गरेर ८ औं वर्ष प्रवेश गर्दासम्म हाम्रो टीमको बलियो आत्मविश्वास, अटोमोबाइल क्षेत्रसँग सम्बद्ध संघ संस्थाको सहयोग र सद्भावले पक्कै काम गरेको छ ।

यसबीचमा अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन आयो । सरकारी नीतिमा परिवर्तन भयो । दुईपाँग्रे र चारपाँग्रे पेट्रोलियम पदार्थरहित साधनको चर्चा बढ्यो । लाइट कमर्शियलमा ईभीको दबदबा नै बन्यो । नेपाल विद्युतीय साधन सहजै स्वीकार गर्नेमा विश्वकै उदाहरणीय देश बन्यो । यसमा हामी सबैले कतै न कतै गर्व गर्न सक्छौं । हाम्रो आफ्नो उत्पादन नभए पनि नवीनतम टेक्नोलोजी प्रयोगमा हामी अब्बल देखियौं । यसका चुनौतीको विषयमा हामी सचेत देखिएका छौं । यसले विद्युतीय साधनको प्रयोगमा हामीलाई अब्बल बनाएको छ ।

विगत ७ वर्षमा अटोमोबाइल क्षेत्रमा भएको विकास, नेपालमा सुरू भएको एसेम्बल उद्योग, टायर उद्योग, ब्याट्री उद्योग, ल्युबमा आएका नयाँ उद्योगले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । एकपछि अर्को उद्योग दर्ता बढिरहेको छ । चीन, भारत र अन्य देशबाट पनि नेपालमा गाडी उत्पादन गर्न सकिन्छ भनेर लगानीकर्ता आउन थालेका छन् । यसले भोलिका दिनमा हाम्रो अटो उद्योगले एउटा आकार ग्रहण गर्ने देखिन्छ ।

अहिले नेपालमा निजी क्षेत्रले अटोमोबाइल उद्योग विकासका लागि ठूलो रकम खर्च गरेको देख्न सकिन्छ । विशेषगरी सर्भिस उद्योगमा अर्बौं रुपैयाँ लगानी भएको छ । जनशक्ति उत्पादनमा पनि लगानी बढाउँदै लगेका छन् । चार्जिङ पूर्वाधारमा पनि ठूलो लगानी भएको छ । शोरुम र स्पेयर पार्टसको स्टकमा पनि धेरै लगानी देखिन्छ । यसले नेपालको अटोमोबाइल उद्योग चाँडै उत्पादनसँग जोडिएर अगाडि बढ्ने अनुमान गर्न सकिन्छ ।

नवीन खोज, सुरक्षा फिचरमा भएको आमूल परिवर्तन, ड्राइभिङ कल्चरमा आएको सुधार, लागतका हिसाबले किफायती देखिनु अहिले अटोमोबाइल क्षेत्रमा भएको विकासले सम्भव भएको हो । यो विकासको चरणमा पाठकलाई पढ्ने सामाग्री, उपभोक्तालाई सही उत्पादन छनोटमा भूमिका, विज्ञापनदातालाई आफ्नो सामानको सही विज्ञापन गर्ने थलोको रूपमा मेरोअटो डटकम बलियो प्लेटफर्म बन्दै गएको छ । यसमा सबै सरोकारवाला पक्षको साथ र सहयोग निरन्तर पाउनेमा हामी विश्वस्त छौं ।

अन्त्यमा, हाम्रा सेवालाई अझ परिष्कृत गर्दै मल्टिमिडियामा थप सशक्त बन्ने प्रण गर्दै आजकै दिनदेखि अंग्रेजी संस्करण en.meroauto.com संचालनमा ल्याएका छाै‌‌ ।


Back_to_top