संसारभर मोटरसाइकल चोर्ने प्रवृत्ति बढ्दै गएपछि इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्दै आएको अमेरिकी कम्पनी जेरो मोटरसाइकलले एन्टी थेप्ट डिभाइस निर्माण गरेको छ । केही समय अगाडि उक्त ‘एन्टी थेप्ट’ डिभाइसको सफल परिक्षणसमेत गरिएको छ ।
विशेषत, बेलायत तथा अमेरिकाका प्रमुख सहरबाट पछिल्ला दिनमा अत्याधिक मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन् ।
लण्डन शहरका प्रमुख सादिग खानकाअनुसार २०१८ मा लण्डनबाट मात्रै १४ हजार मोटरसाइकल चोरी भएको थियो । औषतमा प्रतिदिन ३८ वटाका दरले बाइक चोरी हुँदै आएको उनले बताए ।
‘अत्याधिक मात्रमा मोटरसाइकल चोरी भएपछि ओइएमसँग एउटा सम्मेलन गरेर यसको निवारणको लागि हामी पहल गर्दैछौं ।’ खानले भने ।
नयाँ डिभाइस चोरी भएका मोटरसाइकल ट्रायाकिङ गर्ने उद्देश्य अनुरुप बाइकमा लगाइन्छ । चोरले बाइक चोरेर लगेमा बाइक पुगेको ठाँउको जानकारी डिभाइसले दिनेछ । जसको प्रयोगले चोरी भएको केही घन्टा पछाडि नै बाइक पाउन सकिन्छ । कम्पनीले यसको सफल परिक्षण गरिसकेको छ ।
बेलायत तथा अमेरिकामा मात्र नभई विश्वका विभन्न सहरबाट बाइक चोरीका थुप्रै घटना बाहिर आउने गरेका छन् । यो नयाँ डिभाइसको प्रयोगपछि मोटरसाइकल हराउने सम्भावना कम हुने विश्वास गर्न सकिन्छ ।
नेपालमा पनि बाइक चोरीको क्रम बढ्दो रहेको छ । यस्तोमा यस्ता डिभाइसले बाइक फेला पार्न र चोरलाई पक्रन सहयोग गर्नेछ ।

