काठमाडौं । नेपाली इलेक्ट्रीक दुई पाङ्ग्रे साधन निर्माता कम्पनी यात्री मोटरसाइकलले आफ्नो नयाँ मोडलमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता कारमा मात्रै उपलब्ध टेक्नोलोजी प्रयोग गर्ने भएको छ ।
कम्पनीले सामाजिक सन्जाल (फेसबुक) मार्फत उक्त नयाँ फिचर आफ्नो नयाँ जेनेरेशन पी वान मोडलको मोटरसाइकलमा प्रयोग गर्ने जानकारी दिएको हो ।
कम्पनीका अनुसार, इलेक्ट्रीक मोटरसाइकलमा यस्तो फिचर अहिलेसम्म देखिएको छैन । नेपाली युवा टीमले बनाएको मोटरसाइकलमा पहिलो पटक यसलाई समावेश गरेको बताए ।
यात्रीले यहि वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको पी वान जेन टू मोडल आधुनिक फिचरसँगै उत्कृष्ट रेन्ज र पावरफुल मोटरमा उपलब्ध हुनेछ ।
यात्रीले मोटरसाइकलमै पहिलो पटक एप्पल कार प्ले र एन्ड्रोइड अटो प्रविधि जडान गर्ने भएसँगै यसले थप चर्चा पाउन थालेको हो । उक्त फिचरले मोटरसाइकल चालकहरुलाई निकै फाइदा पुग्ने अनुमान गर्न सकिन्छ । राइडरले आईओएस वा एन्ड्रोइड डिभाइस कनेक्ट गरेर यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यात्री पी वान मोटरसाइकलको नयाँ जेनेरेसन मोडल २०२४ भित्रै नेपाली बजारमा सार्वजनिक हुने छ । उक्त मोडलको अहिले विभिन्न क्षेत्रमा परीक्षण भइरहेको कम्पनीको भनाइ छ ।