काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलिया नयाँ स्कुटर अप्रिलिया स्ट्रोम आज सार्वजनिक गरेको छ । पियाजियो इन्डियाले केही दिन अघि भारतीय बजारमा सार्वजनिक गरेको अप्रिलिया स्ट्रोम–१२५ नेपाली बजारमा भित्रिएको हो ।
अप्रिलिया एसआर १२५ को प्लेटफर्ममा निर्माण भएको यो स्कुटर दुगर्ड ग्रुपका अध्यक्ष मोतिलाल दुगर्डले ललितपुरको लबिममलमा सार्वजनिक गरेका हुन् । नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च स्र्पोटर्स अलोय ह्वील रहेको छ ।
सेग्मेन्टमै पहिलो स्र्पोटी ह्वील भएको स्कुटर रहेको कम्पनीको दावी छ । स्कुटरको फ्रन्टमा वीन्ड स्क्रिनको अप्सनसमेत दिएको छ । अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९.५१ बीएचपी र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ ।
यसमा सीभीटी गियरबक्स लगाइएको छ । सीबीएससहितकोे फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक दिइएको छ । यसको कूल तौल १२२ किलोग्राम रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

