काठमाडौं । अब ट्याक्सी राख्नका लागि पकेट एरिया (पाकिङ्ग) तोकिने भएको छ । काठमाडौं महानगरपालिकाले ट्याक्सी रोक्नका लागि भनेर पकेट एरिया तोक्न लागेको हो ।
उपत्यकाका सडकमा ट्याक्सीहरु जथाभाबी पार्क गरिदा सडक जाम बढेको भन्दै महानगरले ट्याक्सी पकेट एरियाको व्यवस्था गर्न लागेको महानगरका सहरी व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार बस पार्क एरियामा ट्याक्सीहरुका लागि पकेट एरिया निर्धारण गरिने छ ।
उनले अब ट्याक्सी चड्नलाई सर्वसाधरण ट्याक्सी खोज्दै हिड्नु नपर्ने बताए । ट्याक्सीको आवश्यक पर्ने व्यक्तिले घरबाटै फोन मार्फत ट्याक्सी बोलाएर चढ्न सक्ने उनले बताए । उनले त्यसका लागि टोल फ्रि नम्बर उपलब्ध गराइने समेत बताए ।
‘हामी ट्याक्सी चड्ने यात्रुका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने छौँ, जसबाट फोन गरेर घरमै ट्याक्सी बोलाउन सकिने छ,’ कुँवरले मेरोअटोसँग भने ।
यात्रुहरुले कलिङ सिस्टमबाट घरमै बसी–बसी अथवा जुनसुकै ट्याक्सी पार्क एरियाबाट चढ्न सक्ने उनले बताए ।
पर्कको व्यवस्था भएपनि ट्याक्सी गुडिरहेको बेलामा समेत रोकेर यात्रु पिकअप गर्न सक्ने उनले जानकारी दिए ।
यसले गर्दा ट्याक्सीहरु आफ्नो पकेट एरिया भन्दा बाहिर जथाभाबी रोक्नु नपर्ने र आवश्यकक्ता अनुसार फोनको माध्यमबाट सजिलै यात्रु पाउने उनले बताए ।
‘पकेट निर्माणपछि ट्याक्सी सडकमा निश्किदा गुडिरहने छ र, पार्किङ गर्नु पर्ने भए आफ्नो पकेट एरियामै पुग्नु पर्ने छ । यसले सडकमा जथाभाबी ट्याक्सी रोक्दा हुने जाम न्यूनीकरण हुने कुँवरले बताए ।
तर, ट्याक्सी व्यवसायी भने महानगरले चालेको यो कदम ट्याक्सी चालकहरुको विरुद्ध भएको बताउँछन् ।
ट्याक्सी चालक दिप नेपालले ट्याक्सी पकेट एरिया तोकेर महानगरले ट्याक्सी व्यवसायीलाई कैद गर्न खोजेको आरोप लगाए ।
‘ट्याक्सी पकेट एरिया तोक्नु भनेको ट्याक्सी व्यवसायीलाई पिंजड़ामा कैद गर्नु जस्तै हो, पकेट एरिया तोक्नुभन्दा ट्याक्सी व्यवसायलाई मर्यादित बनाउँने तर्फ महानगर लाग्नुपर्छ,’ नेपालले मेरोअटोसँग भने ।
उनले महानगरले पकेट एरिया तोक्न खोज्नु वैदेशिक रोजगार छोडेर देशमै यो व्यवसायमा लागेको युवालाई फेरी विदेश पलाएन हून बाध्य बनाउने बताए ।
उनले सरकारले वैज्ञानिक भाडा समायोजन जस्ता गम्भिर बिषयमा ध्यान नदिएको तर, नयाँ नियम कानून बनाउदै अघि बढी रहेको आरोप लगाए ।
‘सरकारले वैज्ञानिक भाडादर तोक्दैन अनी हामी जस्ता विदेशबाट फर्किएर नेपालमै केही गर्नलाई यो पेशा गरिरहेकालाई फेरी विदेश पठाउन खोज्दै छ,’ नेपालले भने ।

