अर्थमन्त्री जनार्दन शर्माले गाडी आयात रोक्न खोजेकै हुन् त?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै व्यवसायीले केही समयको लागि गाडी आयातमा प्रतिबन्ध लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका थिए । अहिले अटो बजारमा उनको वक्तव्यको विभिन्न कोणबाट बहस सुरू भएको छ ।

आफ्नो मन्तव्यका क्रममा अर्थमन्त्री शर्माले भनेको थिए, ‘नेपाल मै उत्पादन बढाउन कठोर निर्णय लिनुपर्छ, त्यसको लागि व्यवसायीले क्षणिक नाफा नहेरी दीर्घकालीन योजना निर्माण गरेर आवश्यक परे गाडी आयात रोक्नु पर्छ ।’

उनको वक्तव्यपछि अहिले बजारमा सरकारले तत्काल गाडी आयात रोक्ने योजना बनाएको हो कि भन्ने विषयले व्यापक चर्चा पाएको छ । उसोत सेयर बजारलाई साम्राज्यवादको उच्चतम नमूना भएकाले यसको प्रचलन नै गलत भएको बताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनकै पाटीका अर्थमन्त्रीले नाडामा वक्तव्यलाई केलाएर हेर्नुपर्ने हुन्छ ।

यी दुई विषय फरक भए पनि सारमा एउटै विषय हुन् भन्ने बुझ्न कठिन छैन । यसले व्यवसाय गर्दै आएका व्यवसायीलाई मात्रै होइन सवारीसाधन र सेयर किन्न तयार रहेका सबै मानिसलाई हच्काएको छ ।

नाडाको साधारण सभामा व्यवसायीहरूलाई मन्त्रीले के बोले भन्ने विषयमा छलफल र बहस गर्नेभन्दा आफ्नै निर्वाचनको हतारो थियो । निर्वाचनको हतारोमा मन्त्रीको भनाइलाई धेरै गम्भीर रूपमा नलिए पनि निर्वाचनको कार्यक्रम सकिएपछि भने उनीहरूलाई झस्कायो । आफ्नो अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीलाई मन्त्रीको कुराले पोल्न थालेको छ । गाडी उत्पादन नेपालमै गर्नु पर्ने रट्टा मारेर भाषण गरेका अर्थमन्त्रीले बुझ्नु पर्ने केही विषयलाई यहाँ चर्चा गर्नु पर्ने हुन्छ ।

आवश्यकता, प्रतिफल र सम्भाव्यता देखिएपछि उत्पादनमा बजार आफैँ जान्छ । त्यसको लागि राज्यले नीतिगत सुधार र स्थिरता दिए पुग्छ । तर, मासलाई उत्तेजित बनाउन मात्र गरिने भाषणले उत्पादन सम्भव हुँदैन भन्ने विषय राजनीतिक दलका नेताले बुझ्न जरुरी छ ।

पहिलो विषय, नेपालमा गाडी उत्पादन तत्काल संभव छ त र ? यसमा गाडी उत्पादनको लागि चाहिने विषयमा चर्चा गर्नु पर्ने हुन्छ । गाडी उत्पादनको लागि सबैभन्दा पहिला एसेम्बल प्लान्ट लगाउनु पर्छ । एउटा सामान्य मोटरसाइकलको एसेम्बल प्लान्ट स्थापना गर्न करिब एकदेखि ढेड वर्ष लाग्छ भने गाडीको एसेम्बल प्लान्ट स्थापना दुई वर्षभन्दा कम समयमा सम्भव छैन । त्यसमा पनि नेपालमा अहिलेको अवस्थामा कति प्रतिशत ‘भ्यालु एड’ गर्न सकिन्छ भन्ने विषयले महत्व राख्छ । विना भ्यालु एड गरिने एसेम्बल लगानी खेर फाल्ने बाटो मात्रै हुन्छ ।

दोस्रो विषय, नेपालमा अटोमोबाइलको बजार कत्रो छ ? करिब १५ हजार प्यासेन्जर कारको बजार रहेको अहिलेको अवस्थामा सबैभन्दा बढी बजार हिस्सा हुने कम्पनीको ३० प्रतिशतभन्दा कम छ । यसको मतलब सबैभन्दा धेरै प्यासेन्जर कार विक्री गर्ने कम्पनीले पनि ५ हजारभन्दा कम यूनिट विक्री गरिरहेका छन् । त्यसमा पनि ८ देखि १० वटा मोडलको विक्री त्यो संख्यामा हुने हो । अन्यथा कुनै एउटा मोडलको विक्री तथ्यांक १ हजार ५ सयभन्दा बढी छैन । यस्तोमा तत्काल गाडी एसेम्बल कसरी सम्भव होला ?

तेस्रो विषय, गाडी सडकमा गुडेर मात्रै हुँदैन । यो कति सुरक्षित छ भन्ने एकीन गर्न परीक्षण हुनुपर्छ । सामान्य नागरिकले प्रयोग गर्ने खाद्यान्न, तरकारी, पानी, दुध र पेट्रोलियम पदार्थको परीक्षण गर्न नसक्ने सरकारले सवारी साधनको परीक्षण कसरी गर्न सक्छ ? अहिले चीनबाट आएका ‘डब्बा’ जस्ता विद्युतीय गाडी होस् वा अमेरिकी कम्पनीले उत्पादन गरेको टेस्ला जस्ता गाडीमा कुन साइजको मोटर जडान भएको छ भन्ने एकीन गर्न नसक्ने यातायात विभाग र सरकारले नेपालमै तत्काल गाडी आयात रोकेर उत्पादन गर्ने विषय पत्याउन सक्नेखालको छैन ।

चौथो विषय, गाडी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न जमिन, श्रमिक र बिजुली सरकारले व्यवस्था गर्ने अर्थमन्त्रीले त्यही क्रममा घोषणा गरेका थिए । तर, उनको घोषणा बमोजिम व्यवस्था तत्काल सम्भव छ त ?  छैन । देशमा बाटो विस्तार  गर्नुपर्ने २/४ आना जग्गाको मुआब्जा वितरण गर्न नसक्ने सरकारले यति धेरै अवश्यकताका तत्काल पूरा गर्न सक्ने अवस्था छैन । दक्ष जनशक्तिको विषयमा यहाँ धेरै लेख्नु पर्दैन ।

ज्ञान विना बोलिएको कुरामाथि टिप्पणी गर्नु नै बेकार

त्यसो भए मन्त्रीले यस्तो भाषण किन गरे भन्ने कुरा आउँछ । यसलाई बुझ्न धेरै विद्धता आवश्यक पर्दैन । मन्त्री शर्माले आफ्नो मन्तव्यको सुरूआतमै बोलेका थिए । ‘म अर्थशास्त्र जान्दिन, अर्थशास्त्रको विषय पनि मलाई ज्ञान छैन । तर, मलाई ज्ञान छ हाम्रो अर्थतन्त्रमा उत्पादनको हिस्सा बढाउनु छ ।’ यसले देखाएको के हो भने गाडी उत्पादनमा के चाहिन्छ भन्ने विषयमा उनि जानकार नै छैनन् । गाडी उत्पादनको लागि चाहिने विषयमा ज्ञान विना बोलिएको कुरालाई यहाँ टिप्पणी गर्नु नै बेकार हुन्छ ।

त्यसैले आफ्नो मनमा चलेको लहडलाई अध्ययन, खोज र विष्लेषण विना गरिने भाषण बाजीले मन्त्रीको स्तरलाई उदाङ्गो बनाउने बाहेक कुनै काम गर्दैन । आवश्यकता, प्रतिफल र सम्भाव्यता देखिएपछि उत्पादनमा बजार आफैँ जान्छ । त्यसको लागि राज्यले नीतिगत सुधार र स्थिरता दिए पुग्छ । नेपालमा मोटरसाइकलको माग बढ्न थालेसँगै निजी क्षेत्रले त्यसको एसेम्बल प्लान्ट स्थापना तीव्र गतिमा अगाडि बढाएका छन् । तीन वर्षअघि बजाजले नेपालमा पहिलो एसेम्बल प्लान्ट स्थापना गरेको थियो । त्यसपछि टीभीएसले पनि प्लान्ट लगायो । अहिले यामाहा, हिरो, होन्डा जस्ता कम्पनी एसेम्बल प्लान्ट स्थापनाको लागि लागिपरेका छन् ।

प्लान्ट स्थापना बढेसँगै टायर, ब्याट्री, वायर जस्ता सहायक कम्पनी खोल्नेहरूले उद्योग संचालनमा ल्याउन लागेका छन् । सबै कम्पनीले आफ्नो एसेम्बल प्लान्ट संचालनमा ल्याइसक्दा करिब १५ प्रतिशत हाराहारी भ्यालु एड गर्नेगरी सहायक कम्पोनेन्टहरूको उद्योग स्थापना हुने देख्निछ । यसले अबको १५ देखि २० वर्ष भित्र नेपालमै मोटरसाइकल उत्पादन गर्ने बाटो तय गर्न सकिएला । मासलाई उत्तेजित बनाउन गरिने भाषणले उत्पादन सम्भव हुँदैन भन्ने विषय राजनीतिक दलका नेताले बुझ्न जरुरी हुन्छ ।


Back_to_top