काठमाडौं । बीएमडब्लूको आधिकारीक विक्रेता लक्ष्मी प्रिमियमले इलेक्ट्रीक एसयूभी नेपाल ल्याउनको लागि आन्तरिक तयारी गरिरहेको समयमा भारतमा भने आई एक्स मोडल सार्वजनिक भएको छ । बीएमडब्लू भारतले सिबीयू (कम्प्लीट व्यूल्ट यूनिट) को रुपमा ल्याएर विक्री सुरु गरेको आईएक्सको मूल्य १ करो १६ लाख भारतीय रुपैयाँ तोकिएको छ ।
कम्पनीले भारतमा सार्वजनिक गरेको ‘आईएक्स एक्स ड्राइभ ४०’ मा निकै पावरफुल मोटर दिइएको छ । यसमा रहेको मोटरले अधिकतम ३२६ हर्स पावर प्रदान गर्छ भने ६३० एनएम पिक टर्क प्रदान गर्छ । यसको उच्चगति क्षमता पनि उत्कृष्ट रहेको छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेन्डमा भेट्टाउछ । उच्चगति क्षमता २०० किलोमिटर प्रतिघन्टा रहेको यो कारमा दुई वटा इलेक्ट्रीक मोटर प्रयोग भएको छ ।

अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध बीएमडब्लू आईएक्स विश्व बजारमा त्योभन्दा पनि पावरफुल मोटरमा समेत उपलब्ध रहेको छ । यसको टप स्पेकले ५२३ हर्स पावर र ७६५ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । यसको ड्राइभिङ रेञ्ज पनि ६११ किलोमिटर रहेको छ ।
भारतमा सार्वजनिक भएको आईएक्समा ७६.६ किलोवाट आवरको व्याट्री प्याक उपलब्ध रहेको छ भने, डब्लूएलटीपीको अनुसार यसले एक पटकको फुल चार्जमा ४२५ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा २.३ किलोवाटको स्टायडर्ड चार्जर दिइएको छ । यसले एक पटक फुल चार्ज गर्न करिब ३६ घन्टा लाग्ने छ । तर, यसलाई ५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न ७३ मिनेट लाग्ने छ । यदि १५० किलोवाटको चार्जर प्रयोग गर्ने हो भने ३१ मिनेटमा चार्ज गर्न सकिन्छ ।

निकै प्रिमियम फिचरले भरिएको बीएमडब्लू आईएक्सको एक्सटेरियर पनि निकै बोल्ड रहेको छ । ठूलो किड्नी आकारको ग्रिल, स्लीम हेडल्याम्प, स्लीक डिजाइनमा तयार भएको टेलल्याम्प, २१ इन्चको ह्वील यसमा पाउन सकिन्छ ।
निकै उत्कृष्ट ड्यासबोर्ड, हेग्जागोनल स्टेरिङ ह्वील, १२.३ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, बीएमडब्लूको आईड्राइभ ८ इन्फर्मेशन सफ्टवेयर, निकै सुन्दर क्याविन, आकर्षक सिट, उच्च गुणस्तरको उड क्रोम र लेदरको मिश्रण यसमा पाउन सकिन्छ । बीएमडब्लूले यसमा धेरै क्रिस्टलको पनि प्रयोग गरेको छ । झट्ट हेर्दा आँखानै मनमोहक बनाउने क्याविन यसको सुन्दर पक्ष हो । कम्पनीले यसमा सुरक्षा फिचरको लागि सबै किसिमका लेटेष्ट फिचरहरु प्रदान गरेको छ ।

