तिब्र बजार बिस्तारमा एथर, नेपालमा पनि नेटवर्क थपिदै

काठमाडौं । भारतीय स्टाटअप कम्पनी एथर इनर्जीले २ लाख यूनिट बिक्री पुरा गरेको छ । कम्पनीले तिब्र बजार बिस्तार गर्ने क्रममा २ लाख यूनिट उत्पादन पुरा गरेको हो ।

कम्पनीले प्रिमियम इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा स्कुटर उत्पादन तथा विक्री गर्दै आएको छ । भारतसँगै पहिलो अन्तर्राष्ट्रिय बजारको रुपमा नेपालमा केही महिना अघि मात्रै एथरले बिक्री सुरु गरेको हो ।

भारत सरकारले दिएको अनुदानले पछिल्लो दुई वर्षमा ईभीको विकास तिव्र गतिमा भइरहेको छ । यसको प्रत्यक्ष फाइदा एथरले उठाउन सफल भएको देखिन्छ । कम्पनीले पछिल्लो ११ महिनामा मात्रै १ लाख यूनिट स्कुटर बिक्री गरेको हो ।

एथरले भारतमा ओला, बजाज चेतक, टीभीएस आइक्यूव जस्ता स्कुटरहरुसँग प्रतिस्पर्धा गर्दै २ लाखको माइलस्टोन पुरा गरेको हो । नेपालमा भने ओलाको प्रतिस्पर्धा चिनियाँ ब्राण्डहरुसँग भइरहेको छ ।

एथर इनर्जीले २०२० जनवरीमा एथर ४५० एक्स र ४५० प्लस सार्वजनिक गरेको थियो । कम्पनीले २०२३ जनवरीसम्ममा १ लाख यूनिट पुरा गरेको थियो ।

अहिले कम्पनीको लाइनअपमा एथर ४५० एक्स, ४५० एस रहेको छ । कम्पनीले एथर ४५० एपेक्स स्कुटर ल्याउने तयारी गरिरहेको छ । नयाँ स्कुटर अहिले बजारमा रहेका मोडलभन्दा अझै प्रिमियम हुनेछ ।

भारतीय बजारमा एथर ४५० एसको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ एक्स शोरुम रहेको छ । त्यस्तै ४५० एक्सको मूल्य १ लाख ३८ हजार रुपैयाँ सुरुवाती मूल्य राखेको छ ।

नेपालमा बैद्य इनर्जीले बिक्री गर्दै आएको एथर ४५० एक्स दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसको मूल्य ३ लाख ८५ हजार र ४ लाख २० हजार रुपैयाँ छ ।

नेपालमा पनि एथरको नेटवर्क बिस्तार भइरहेको बैद्य इनर्जीले जनाएको छ । काठमाडौंको ग्रैहीधारामा अहिले शोरुम संचालनमा छ भने झम्सीखेलको शोरुम चाँडै बिस्तार हुने कम्पनीको भनाइ छ । उपत्यका बाहिर पनि नेटवर्क बिस्तार सुरु गरेको छ ।


Back_to_top