काठमाडौं । एथर इलेक्ट्रीकले उपत्यकाको ७ स्थानमा फास्ट चार्जर जडान गरेको छ । कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा फास्ट चार्जर जडान गरेको हो ।
भारतीय इलेक्ट्रीक स्कुटर एथरको नेपालका लागि लागि आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले फास्ट चार्जर जडानसँगै आक्रामक बजार बिस्तार योजना तयार गरेको हो ।
कम्पनीले काठमाडौंको ग्रैरीधारा र ललितपुरको झम्सीखेलमा शोरुम संचालन गरेको छ भने तीनकुनेमा डेडिकेटेड सर्भिस सेन्टर सुचारु गरेको छ । यी तीनवटै स्थानमा फास्ट चार्जर पाउन सकिन्छ ।
यी स्थानको अलावा अनामनगर र महाराजगंजमा रहेको भाटभटेनी डिपाटमेन्ट स्टोरमा समेत फास्ट चार्जर जडान गरेको छ । त्यस्तै कम्पनीले सितापाइलामा रहेको कफी ब्रेक क्याफे र सल्लाघारीमा रहेको सल्लाघारी सपिङ कम्प्लेक्समा चार्जर जडान गरेको हो ।

वैद्यज् इनर्जीका निर्देशक शुयान्स वैद्यले निकट भविष्यमा नै उपत्यकाका विभिन्न स्थानमा थप फास्ट चार्जर जडान गर्ने योजना रहेको बताएका छन् । उनका अनुसार भाटभेटीका सबै स्थानमा एथरका चार्जर जडान गर्ने योजना अन्तिम चरणमा पुगेको छ । साथै, उपत्यका बाहिर रहेका मुख्य सहरी क्षेत्रमा शोरुम र फास्ट चार्जर जडान गर्ने बैद्यले जानकारी दिए ।
कम्पनीले नेपालमा एथर ४५० एक्सको दुई भेरियन्ट नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले लो रेन्ज र हाई रेन्ज गरि एथर ४५० एक्स उपलब्ध गराएको छ । एथर ४५० एक्स २.९ किलोवाटको ब्याट्री भेरियन्टको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ भने यसको ३.७ किलोवाट भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
एथर एक्स ४४० मा पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर भएको एथर ४५० एक्समा अगाडि २०० एमएमको डिस्क ब्रेक र पछाडि १९० एमएमको डिस्क ब्रेक दिएको छ ।
कम्पनीले यसमा ६.४ किलोवाट पीक पावर भएको मोटर दिएको छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।


