एथरको रिज्टा स्कुटरको डेलिभरी सुरू, नेपालमा ९० दिनभित्र आउने

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको फ्यामिली स्कुटर रिज्टाको डेलिभरी सुरू भएको छ ।

कम्पनीका को–फाउन्डर तथा सीईओ तरुन मेहताले सामाजिक संजाल एक्स (ट्वीटर)मार्फत भारतीय बजारमा रिज्टाको डेलिभरि सुरू गरिएको जानकारी दिएका हुन् ।

कम्पनीले रिज्टा तीन भेरियन्टमा ल्याएको हो । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो ।

कम्पनीले रिज्टा एसको मूल्य १ लाख १० हजार, रिज्टा जेड २.९ किलोवाटको १ लाख २५ हजार र रिज्टा जेड ३.७ किलोवाटको १ लाख ४५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेको छ ।

यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।

एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४–लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

फ्यामिली र सस्तो मोडलको रुपमा रहेको रिज्टा स्कुटर नेपालमा पनि उपलब्ध हुनेछ । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज इनर्जीले फ्यामिली स्कुटर रिज्टा आगामि भदौमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले अहिले ४५० एसको बुकिङ लिइरहेको छ ।

कम्पनी स्रोतका अनुसार पहिलो पटक सहभागी हुन लोगेको एथरले नयाँ स्कुटर ल्याउने लागेको हो । नेपालमा तयारी भइरहेको छ भने एथर इन्डियाले अप्रुभल दिएको अवस्थामा एथर रिज्टा अटो शोमा नेपाल आउने छ ।


Back_to_top