काठमाडौं । अमेरिकामा टेस्ला ब्राण्ड कार माथि भौतिक आक्रमण सुरू भएको छ । लस भेगास, क्यान्सस सिटी, सान डिएगो लगायतका सहरमा टेस्ला कारलाई लक्षित गर्दै आक्रमण सुरू भएको हो ।
यी घटना यस्तो समयमा बाहिर आएको हो, जतिबेला टेस्लाको सेयर मूल्यमा गिरावट चलिरहेको छ । टेस्लाका सीईओ इलन मस्क अमेरिकी सरकार संचालनमा हस्तक्षेपकारी भूमिकामा रहेको भनेर हरेक दिन अखबारहरूको हेडलाइन बनिरहेका छन् ।
गत मंगलवार लस भेगासमा पार्किङमा राखिएका टेस्लाका गाडी माथि भएको आक्रमणपछि ब्राण्ड माथिको आक्रमण अर्को चरणमा प्रवेश गरेको हो । उक्त घटनामा टेस्लाका दुई कार जलेका थिए । आक्रमण कारीले जलेको गाडीमा ‘प्रतिरोध’ शब्द लेखेका थिए । त्यसैले यसलाई अमेरिकाभर राजनीतिक एजेण्डाको कारण भएको भौतिक आक्रमण भनिन थालिएको छ ।
टेस्लाका सीईओ इलन मस्कले उक्त घटनाबारे आफ्नो सामाजिक संजाल एक्समा लेखेका छन्, ‘हिंसाको यो स्तर पागलपन हो । टेस्ला राजनीतिक गर्ने होइन केबल इलेक्ट्रीक सवारी साधन उत्पादन गर्ने कम्पनी हो । त्यसैले दुष्टहरूले यसलाई आक्रमण गर्नु पर्ने कुनै कारण छैन ।’
त्यसैगरी, मिसौरीको कान्स सहरमा दुई साइबर ट्रक जलाइएको थियो । त्यस्तै इलिनोइस र क्यालिफोर्नियामा तोडफोड भएका छन् । टेस्लाका डिलरमा तोडफोडमा सामेल मानिसले झ्यालहरूमा ट्रम्प र मस्कको बारेमा आपत्तिजनक शब्दहरू लेखेका थिए ।
बीमा कम्पनीहरू प्रिमियम बढाउँदै
जनस्तरमा आक्रोश बढ्दै जाँदा टेस्लाका कारहरूमा आक्रमण हुन थालेपछि बीमा कम्पनीहरू प्रिमियम दर बढाउनु पर्ने विषयमा छलफल गरिरहेको रिपोर्ट बुधबार सार्वजनिक भएको थियो । बीमा कम्पनीहरूले थप आक्रमणका घटना बाहिर आउन सक्नेभन्दै टेस्लाका कारमा प्रिमियम बढाउन खोजिरहेका छन् ।
जोखिम धेरै हुने भएकाले बीमाको प्रिमियम बढाउनुको विकल्प नरहेको बीमा कम्पनीहरूको भनाइ छ । यदि, बीमा प्रिमियम बढ्ने हो भने टेस्ला कारका मालिकहरूले थप रकम तिर्नु पर्ने हुन्छ ।
