नाडामा गाडी किन्न सस्तोमा ऋण दिने होडबाजी, यी ५ बैंकले ५.२०% कममै दिने

काठमाडौं । बैंकहरू बीच सवारी साधन खरिद गर्न सस्तो ब्याजदरमा कर्जा दिने होडबाजी चलेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी अटो कुम्भमेला ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै बैंकहरूले निकै सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याएका हुन् ।

बैंकमा पैसा थुप्रिएर बसेको र अटो शोमा धेरै गाडी खरिद बिक्री हुने भएकाले बैंकहरूले ग्राहक आकर्षित गर्न सस्तो ब्याजदरको कर्जा योजना ल्याएका हुन् ।

आर्थिक शिथिलताले कर्जाको माग नहुँदा हाल बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँ बढी पैसा थुप्रिएर बसेको छ । अटो शो र चाडपर्वको सिजनमा नयाँ सवारी खरिद बिक्री बढ्ने भएकाले त्यसैलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरको स्कीम ल्याएका हुन् ।

अटो कर्जा ७ वर्षसम्मका लागि प्रवाह हुने भएकाले बैंकहरूले दीर्घकालीन लगानीलाई समेत ध्यानमा राख्दै आकर्षक कर्जा योजना ल्याएका हुन् ।

अधिकांश बैंकहरूले बेसरेटमा ०.५ प्रतिशत मात्रै प्रिमियम जोडेर अटो कर्जा योजना ल्याएका छन् । केही बैंकले ५ प्रतिशतभन्दा पनि कम ब्याजदरको कर्जा योजना ल्याएका छन् । जुन ब्याजदर नेपालको बैंकिङ इतिहासकै सबैभन्दा कम हो ।

कुन बैंकको कति ?

नेपाल : सरकारी स्वामित्वको नेपाल बैंकले सवारी खरिद गर्न चाहानेलाई ५ प्रतिशतभन्दा कम ब्याजदरमै अटो लोन दिने भएको छ । बैंकले बेसरेटमा ०.४९ प्रतिशत मात्रै प्रिमियम जोडेर ऋण दिने भएको हो । सो अनुसार बैंकले जम्मा ४.९४ प्रतिशतमै कर्जा दिने भएको हो ।

बैंकका अनुसार यसरी गाडी किन्न कर्जा लिँदा ०.५ प्रतिशत मात्रै प्रशासनिक शुल्क लाग्ने छ । साथै, कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शुल्क ३ लाखसम्मको क्रेडिट कार्ड (लाइफटाइम) को सुविधा बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । यो बैंकले अधिकतम ७ वर्षसम्मका लागि १ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । यसमा प्रोसेसिङ फी कर्जा सीमाको ०.५ प्रतिशत मात्र लागने बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा : यो बैंकले नाडामा सवारी साधन खरिद गर्नेलाई ५.१३ प्रतिशत ब्याजदममै अटो लोन उपलब्ध गराउने भएको छ । इन्भेष्टमेन्टले अटो कर्जा दिँदा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र लिने जनाएको छ ।

नबिल : नबिलले पनि सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ । नबिलले सवारी किन्न चाहानेलाई ५.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको हो । बैंकले ७ वर्षसम्मका लागि गाडीको मूल्यको ६० प्रतिशतस्म्म कर्जा दिने भएको छ । अटो कर्जामा सेवा शुल्क ०.५० प्रतिशत लाग्ने नबिलले जनाएको छ ।

ग्लोबल : चुक्ता पूँजीका आधारमा नेपालको सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले पनि नाडामा विद्युतीय सवारी किन्नेलाई ५.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । ग्लोबलले पनि ७ वर्षसम्मका लागि ऋण दिने भएको हो । बैंकले अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।

ग्लोबल स्थिर ब्याजदरको कर्जा योजना समेत ल्याएको छ । ७ वर्षका लागि कर्जा दिँदा पहिलो ३ वर्षसम्म ५.१७ प्रतिशत र त्यसपछि बेसरेटमा २ प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ ।

कुमारी : कुमारी बैंकले नाडामा सवारी खरिद गर्न चाहानेलाई ५.२१ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ । बैंकका अनुसार अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ ।

प्रभु : यो बैंकले ‘सपनाको कार, आकर्षक ब्यानदर’ नारासहित अटो लोन योजना ल्याएको छ । बैंकले बेसरेटमा ०.५ प्रतिशत मात्रै प्रिमियम जोडेर गाडी किन्न ऋण दिने भएको छ । बैंकको हालको बेसरेट ४.८५ प्रतिशत छ । त्यसमा ०.५० प्रतिशत प्रिमियम जोडेर ५.३५ प्रतिशतमै ऋण दिने भएको हो ।

लक्ष्मी सनराइज : गाडी किन्न चाहानेलाई लक्ष्मीले ५.४९ ब्याजदरमै अटो कर्जा योजना ल्याएको छ । प्रभुले पनि अटो कर्जामा ०.५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाएको छ ।

माछापुच्छ्रे बैंक : यो बैंकले बेसरेटमा ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म प्रिमियम जोडर अटो कर्जा दिने भएको छ । बैंकको साृन मसान्तको बेसरेट ४.८१ प्रतिशत छ । त्यसमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम जोड्दा ५.३१ प्रतिशतमै कर्जा पाउँछन् । बैंकले यस्तो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।

कृषि विकास बैंक : कृषिले अटो कर्जाको प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुटसहित अटो कर्जाको योजना ल्याएको छ । बैंकले ठ्याक्कै यति प्रतिशत ब्याजदरमा कर्जा दिने भनेर तोकेको छैन । तर, तीव्र प्रतिस्पर्धा भएकाले यसले पनि न्यूनतम ०.५ देखि ३ प्रतिशतसम्म प्रिमियम जोडेर अटो कर्जा दिन्छ । बैंकको हालको बेसरेट ४.६६ प्रतिशत छ । ग्राहकले करिब साढे ५ प्रतिशत ब्याजदरमै कर्जा पाउँछन् ।

एनआइसी एसिया : एनआइसीले स्थिर ब्याजदरको अटो कर्जा योजना ल्याएको छ। एनआईसी एसियाले सवारी किन्न ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको छ । ग्राहकले एनआइसीबाट ७ वर्षसम्मका लागि कर्जा पाउने छन् ।

विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकले ५.५४ प्रतिशत र महालक्ष्मी विकास बैंकले ५.९९ प्रतिशतमा अटो कर्जा उपलब्ध गराउने भएका छन् ।

नाडा अटो शोमा सहभागी नभएका बैंकहरूले पनि हाल बेसरेटमै ०.५ प्रतिशतदेखि १ प्रतिशत प्रिमियम जोडेर सवारी किन्न कर्जा दिइरहेका छन् । ग्राहकले सहजै ५/५.५ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ ।


Back_to_top