काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ को प्रि बुकिङ खुला भएको छ । सिप्रदी यात्रीले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा यात्री पी २ को प्रि बुकिङ लिन थालेको हो ।
कम्पनीले यात्री पी २ को आधिकारिक मूल्य नतोकी बुकिङ खुलाएको हो ।यात्री पी २ को डिजाइन, डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो ।
यसमा १० किलोवाटको शक्तिशाली मोटर छ । नेपालमा उपलब्ध इलेक्ट्रीक स्कुटरहरूमध्ये सबैभन्दा ठूलो हो । यात्री पी २ तीन ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । याे ३ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवरको ब्याट्री अप्सनमा पाइन्छ ।
यात्री पी २ को रेन्ज ब्याट्री साइज अनुसार फरक फरक छ । सबैभन्दा ठूलो ५.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यात्रीले पी २ मा स्कुटर सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिएको छ । ३.३ किलोवाटको फास्ट चार्जरबाट यो केबल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।
यो स्कुटर होम चार्जरबाट पनि निकै छिटो अर्थात् २ घण्टा ५० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । अरु स्कुटर फुलचार्ज गर्न सामान्यतया ४ देखि ७ घण्टासम्म लाग्छ ।
यात्री पी २ स्कुटरले एन्ड्रोइड अटो र एप्पल कार प्ले पनि सपोर्ट गर्छ । रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग भएको स्कुटरको ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआएआई) बाट प्रमाणित रहेको छ ।
यात्री पी २ मा १३९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।
यात्री पी २ मा १४ इन्चको अलोय ह्वील छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । जुन नेपाल जस्तो भौगोलिक विविधता र कच्ची सडक भएको स्थानका लागि निकै उपयोगी हो ।


