काठमाडौं । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा भारत बाहेकका देशबाट आयात हुने सवारी साधनमा मूल्य वृद्धि हुने भएको छ । पछिल्ला दुई महिनादेखि निरन्तर उकालो लागेको डलर मूल्यले सवारीसाधनको मूल्यमा वृद्धि हुने भएको हो ।
केही महिनाअघिसम्म प्रति १ डलर १०६ रुपैयाँ हाराहारी रहेको डलरको मूल्य अहिले बढेर १२३ रुपैयाँभन्दा बढी भइसकेको छ ।
नेपालमा अहिले भारत बाहेक जापान, चीन, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, कोरिया लगायत देशबाट गाडी आयत हुँदै आएको छ । यस्तोमा यी देशबाट आउने सवारीसाधनको मूल्यमा वृद्धि हुने अवस्था आएको हो ।
अहिले कोभिड १९ को कारण धेरै देश लकडाउनमा रहेको र नेपालमा पनि विगत २४ दिनदेखि लकडाउन चलिरहेकाले अहिले तत्कालै यसको असर नदेखिएपनि लकडाउन सकिएको केही दिनपछि भने यहि अवस्था कायम रहे सवारीसाधनको मूल्यमा वृद्धि हुने भएको हो ।
अहिले भारत बाहेक देशबाट विशेषगरि इलेक्ट्रीक सवारीसाधन आयात हुँदै आएका छन् भने टोयोटा, मित्सुवीसी, माज्दा, एमजी, स्कोडा, पिउजाे, साङयोङ जस्ता ब्राण्डका गाडी तेस्रो मुलकबाट आयात हुँदै आएको छ ।
नेपालमा बिक्री हुँदै आएका किया निरो, हुन्डाई कोना र आयोनिक तथा एमजी इजेडएस इलेक्ट्रीक गाडी कोरिया र चीनबाट आयात हुँदै आएका छन् । यस्तोमा बजारमा बिक्री हुने इलेक्ट्रीक कारको मूल्य वृद्धि हुने देखिन्छ ।


