अर्थमन्त्री, अटो शो, दशैं र चिसिएको व्यापार

पछिल्ला तीन वर्ष नेपाली अटोमोवाइल क्षेत्रको लागि निकै उतारचढाव पूर्ण रहँदै आएको छ । त्यो उतार चढाव न गाडी बिक्रेताले ल्याएका हुन् न उपभोक्ताले । यसलाई ल्याउने काम गरेका हुन् नीति निर्माताले ।

कहिले अर्थमन्त्रालयले आयात धेरै भयो व्यापारघाटा बढ्यो, वित्तीय सन्तुलन नै खल्बलायो भन्छ भने कहिले बाणिज्य मन्त्रालयले आयातमा कडाई गर्न पर्यो भन्छ । यी दुबै मन्त्रालयले गाडीको आयात कम गर्न प्रयोग गर्ने औजार नेपाल राष्ट्र बैंक हो ।

केन्द्रीय बैंकले जहिलेपनि गाडी आयात बढ्यो भन्नासाथ त्यसलाई कडाई गर्न लोनको सिमा घटाउने, अटो लोन प्रबाहमा बैंकहरुलाई कडाई गर्न भन्ने गरेको छ । यसमा मिडियाको भूमिका पनि कम जिम्मेवार छैन । नागरिकमा सूचना प्रबाह गर्ने मिडियाले नै विलासी बस्तुको आयात र व्यापार घाटाको विषय उठान हुनासाथ गाडी आयातमा कडाई भन्ने बुझ्ने गरेका छन् । 

अटो क्षेत्रमा सरकारले विलासी भनिरहेका सवारीसाधनको आयात अत्यन्त कम छ । हामीले वार्षिक करिब २५ अर्व हाराहारीको साना जीप कार तथा भ्यान आयातमा खर्च गर्दै आएको छौं । त्यसबाट ६० अर्वभन्दा बढी सरकारी राजस्व संकलन हुँदै आएको छ । मोटरसाइकल नेपालीको सबैभन्दा उत्तम यातायातको साधन भएको छ । तर, त्यसमा पनि सरकारी राजस्वको दवाव त्यतिकै छ ।

अटो शो र अवलोकनकर्ता

नाडा अटो शो नेपालमा हुने प्रदर्शनी मध्य सबैभन्दा ठूलो प्रदर्शनीको रुपमा स्थापित भइसकेको छ । हरेक नागरिकलाई अटो क्षेत्रको महत्व थाहा छ र त्यसमा भएका नयाँ अनुषन्धान, प्रविधि र डिजाइनसँग जोडिने मौकाको रुपमा उनिहरुले अटो शोलाई लिने गरेका छन् । त्यस्तोमा स्वभाविकरुपमा अवलोकनकर्ताको रोजाईमा अटो पर्ने गरेको हो । सार्वजनिक यातायातको अस्तव्यस्थताका कारणपनि निजी सवारीसाधन प्रति आमनागरिकको चासो धेरै भएको हो ।

अर्थमन्त्री डा. यूवराज खतिवडाले भदौ १० गते उद्घाटन गरेको उक्त अटो शोमा जुन उत्साह अबलोकनकर्तामा देखिएको थियो, त्यसले अटो क्षेत्र प्रतिको नागरिकको आकर्षणलाई बुझन कठिन हुँदैन । 

अटो शो आयोजक संस्था नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अनुसार मेलामा ८१ हजारभन्दा बढी अबलोकनकर्ता आएका छन् । जुन आयोजकले अनुमान गरेभन्दा ६ हजारले बढी हो ।

सुस्थाएको बजार

अघिल्लो दशैंपछि सुस्थाएको बजारलाई नाडा अटो शोले केही चलायमान बनाउने कोषिस गरेको भएपनि त्यसको परिणाम बिक्रीमा नपरेको व्यवसायीहरु बताउँछन् । 

‘नाडा अटो शोपछि जुन किसिमको उत्साह बिक्रीमा देखिनु पर्ने हो त्यो देख्न सकिएको छैन’ धेरै गाडी आयातकर्ताको भनाई हो यो ।

बजारमा पैसा नभएर वा मानिसको गाडी किन्ने क्षमतामा ह्रास आएर गाडीको बिक्री घटेको भने पक्कै होइन । पछिल्लो दिनमा मानिसको लगानी गर्ने सोचमा नै फरकपन आइरहेको अवस्था छ ।

‘मानिसमा आफुसँग भएको नगद खर्च गर्न नचाहने अवस्था सृजना भएको छ । जबसम्म पैसा खर्च गरेर थप कमाउन सक्छु भन्ने विस्वास सृजना हुँदैन तबसम्म खर्च हुँदैन । त्यसको असर अटो क्षेत्रमा मात्र होइन खाद्यान्नदेखि ब्राण्डेड लताकपडामा समेत पर्छ ।’ अर्थ क्षेत्रका जानकारहरु बताउँछन् ।


Back_to_top