काठमाडौं । चिनियाँ प्रिमियम विद्युतीय कार ब्राण्ड अवतारको नयाँ मोडल ०७ नेपाल आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले अवतार ०७ नेपाल ल्याएको हो ।
अहिले उक्त एसयूभी भन्सार जाँचपास प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले भन्सार जाँचपास प्रक्रियाका लागि अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित गरेको छ । कम्पनीले अवतार ०७ को मूल्य १ करोड १० लाख रुपैयाँ तोकेको हो ।
कम्पनी स्रोतका अनुसार हाल परीक्षणका लागि उक्त अवतार ०७ नेपाल ल्याइएको हो । यसको आधिकारिक बिक्री भने सन् २०२६ को दोस्रो त्रैमाससम्ममा सुरु गरिने स्रोतको भनाइ छ ।
‘अहिले अवतार ०७ परीक्षणका लागि मात्रै ल्याएका हौं । तत्काल बिक्री सुरु गर्दैनौं । सन् २०२६ को सेकेण्ड क्वाटरसम्ममा बिक्री थाल्ने योजना छ,’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
हाल नेपाली बजारमा अवतार ११ बिक्री हुँदै आएको छ । अर्बान एसयूभी अवतार ०७ मा १९० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आउने अवतार ७ मा ८२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ। यसले एकपटकको फुलचार्जमा ६५० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यो एसयूभीले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन केबल ६.३ सेकेण्ड मात्रै लाग्छ ।
अवतार ७ को लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १६२० एमएम छ । यसको ह्वीलबेस २९४० एमएम रहेको छ ।
सुरक्षाका लागि यसमा ९ वटा स्ट्याण्डर्ड एयरब्याग, एडभान्स २७ सेन्सर, लाइडर, ३६० डिग्री क्यामेरा आइपी ६८ वाटरप्रुफ ब्याट्री प्रोटेक्सन लगायत फिचर छन् ।

