काठमाडौं । चिनियाँ प्रिमियम विद्युतीय कार ब्राण्ड अवतारको नयाँ मोडल ०७ नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि अवतारको आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले नाडा अटो शोमा अवसरमा ०७ बिक्री सुरु गरेको हो ।
कम्पनीले अवतार ०७ को सुरूआती मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ । अर्बान एसयूभी अवतार ०७ मा १९० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो एसयूभीले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन केबल ७.७ सेकेण्ड मात्रै लाग्छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आएको अवतार ०७ मा ८२.१६ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ। यसले एकपटकको फुलचार्जमा ५७५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
अवतार ७ को लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १६२० एमएम छ । यसको ह्वीलबेस २९४० एमएम रहेको छ ।
अवतार ०७ को प्रविधिमैत्री र विलासी क्याबिनमा ३५.४ इन्चको फोर-के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ वटा स्पिकरसहितको पायोनियर अडियो सिस्टम उपलब्ध छन्।
जिरो ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले/ एन्ड्रोइड अटो, ५० वाटको वायरलेस स्मार्टफोन चार्जर समावेश छन्।
सुरक्षाका लागि यसमा ९ वटा स्ट्याण्डर्ड एयरब्याग, एडभान्स २७ सेन्सर, लाइडर, ३६० डिग्री क्यामेरा आइपी ६८ वाटरप्रुफ ब्याट्री प्रोटेक्सन लगायत फिचर छन् ।

