आउने भयो सबैभन्दा सस्तो डोमिनार

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतीय बजारमा १२५ सीसी सेग्मेन्ट अन्तर्गत नयाँ मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले परीक्षण गरिरहेको मोटरसाइकलको स्पाई फुटेज भारतीय मिडिया मार्फत बाहिरिएको हो । परीक्षणको क्रममा लिक भएको फुटेजमा देखिए अनुसार यो मोटरसाइकल बजाज डोमिनार १२५ हुनसक्ने अनुमान गरिएको छ ।

बजाजको एकपछि अर्को नयाँ मोडलको मोटरसाइकल बजारमा आउने क्रम चलिरहेकै अवस्थामा नयाँ मोटरसाइकलको परीक्षण गरिरहेको फुटेज भारतीय मिडियामा आएको हो । कम्पनीले नयाँ मोटरसाइकलको परीक्षण तीव्र रूपमा गरिरहेको छ ।

परीक्षणको क्रममा देखिएको मोटरसाइकलमा स्प्लीट सिट सेटअप, सिंगल पीस ग्रेब रेल, टायर हगर देख्न सकिन्छ । यसका साथै मोटरसाइकलमा मस्कुलर फ्युल ट्याङ्की, नयाँ एलईडी हेडलाइट सेटअप र हेलोजन टर्न इन्डिकेटर्स दिइएको छ ।

त्यसैगरी, यस मोटरसाइकलमा कभरसहितको यूएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअप, पल्सर पी १५० को जस्तै अलोय ह्वील, अन्डरबेली एक्जस्ट, ट्युबलेस टायर, अगाडि डिस्कब्रेक र पछाडि ड्रमब्रेक रहेको देखिन्छ।

यसका अलावा नयाँ मोटरसाइकलमा पूरा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सिंगल च्यानल एबीएस, कनेक्टिभिटी सिस्टम, डीआरएल, टर्न–बाइ–टर्न नेभिगेसन लगायतका अन्य फिचरहरू पनि हुने अनुमान गरिएको छ ।

यस नयाँ मोटरसाइकलको बारे कम्पनीले भने आधिकारिक रुपमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

नयाँ मोडल बजारमा छिटै सार्वजनिक हुने अनुमान सहजै लगाउन सकिन्छ ।


Back_to_top