काठमाडौं । बजाज मोटरसाइकलले पहिलो एड्भेन्चर मोडल ल्याउन लागेको चर्चा सुरु भएको छ । बजाज अटोले नयाँ नामको ट्रेडमार्क दर्ता गरेसँगै नयाँ एड्भेन्चर मोटरसाइकलको चर्चा सुरु भएको हो ।
बजाजले ‘डार्कस्टार’ नामबाट नयाँ ट्रेडमार्क दर्ताको आवेदन दिएसँगै विभिन्न रिपोर्टहरुले पल्सर सिरिजमा आधारित पहिलो एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको दावी गरेका छन् । बजाजले सेप्टेम्बर ५ तारिखमा नयाँ नामको ट्रेडमार्क दर्ताको आवेदन दिएको थियो ।
कम्पनीले आवेदनमा उल्लेख गरे अनुसार डार्कस्टार नाम कम्पनीले बनाउने मोटरसाइकल, स्कुटर, थ्रि ह्वीलर्स र इलेक्ट्रीक मध्ये कुनैपनि प्रयोजनमा प्रयोग हुन सक्ने जनाएको छ । तर, बढ्दो एड्भेन्चर मोटरसाइकलको बजारलाई हेरेर कम्पनीले एड्भेन्चर मोडल ल्याउन लागेको रिपोर्टहरुमा दावी गरिएको छ ।
यदि बजाजले डार्कस्टार नामबाट एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने हो भने यसलाई नयाँ जेनेरेशन पल्सर एन २५० मा आधारित रहेर ल्याउने अनुमान गर्न सकिन्छ । पल्सर एन २५० केही दिनअघि मात्रै नेपाली बजारमा विक्री सुरु भएको मोडल हो ।
बजाजको नयाँ एड्भेन्चर मोटरसाइकलले सुजुकी भीस्ट्रोम २५०, होन्डा सिबी २०० एक्स र हिरो एक्सपल्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
बजाजले पल्सरमा आधारित एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने हो भने यसमा अगाडि २१ इन्च र पछाडि १७ इन्चको स्पोक ह्वील, लङगर ट्राभल सस्पेन्सन, २५० सीसीको इन्जिन, अधिकतम पावर २४.५ पीएस, स्लीपर क्लच, ड्यूल च्यानल एबीएस जस्ता फिचर प्रदान गर्नेछ ।

