काठमाडौं । नेपालमा नै एसेम्वल भएको बजाज डोमिनार ४००को बिक्री सुरु भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरण एचएच बजाजले डोमिनार ४०० को बिक्री सुरु गरेको हो । कम्पनीले गत बर्षदेखि नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।
नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । हाल यसको बिक्री भने कम्पनीको टेकु शोरुमबाट भइरहेको छ । याे केही समय पश्चात् सबै शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजार सार्वजनिक गरेको कम्पनीले बताएको छ ।
सरकारले धेरै सीसीका मोटरसाइकलमा गरेको कडाई पश्चात डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो ।
हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूचीअनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो ।
परिमाजर्न भएर आएको बजाज डोमिनार ४००को इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । डोमिनार २०१९ मा कम्पनीले केहि नयाँ फिचर थप गरेर ल्याएको छ । यसअघि टेलिस्कोप फर्क रहेको यो मोटरसाइकलमा हाल यूएसडी फर्क दिएको छ यस्तो साइलेन्सरमा परिर्वतन गरेको छ भने गियर इन्डिकेटरलाई थप गरेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ ।

