बजाजले एकैपटक बढायो १७ भेरियन्टका मोटरसाइकलको मूल्य, कुनमा कति ? (सूचीसहित)

काठमाडौं । बजाज मोटरसाइकलका १७ भेरियन्टको मूल्य वृद्धि भएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जेठ १८ गतेदेखि लागू हुनेगरी नेपाली बजारमा बिक्री भइरहेका १७ भेरियन्टको मूल्य एकैपटक बढाएको हो ।

सार्वजनिक नयाँ मूल्यसूची अनुसार मोटरसाइकलमा न्यूनतम २ हजारदेखि ५ हजार रुपैयाँसम्म बढेको छ । कम्पनीले बजाजको सबैभन्दा ठूलो इन्जिन क्षमतामा उपलब्ध भएको पल्सर एनएस ४०० जेड र डोमिनार ४०० मोडलमा अधिकतम ५ हजार रुपैयाँले मूल्य बढाएको छ । मूल्य बढेपछि एनएस ४०० जेडको नयाँ मूल्य ५ लाख ७१ हजार ९०० रुपैयाँ र डोमिनार ४०० को मूल्य ६ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, एभेन्जर २२० क्रुज र १६० स्ट्रीटमा ४ हजार रुपैयाँ बढाएको छ । नयाँ मूल्य अनुसार एभेन्जर २२० क्रुजको ४ लाख २८ हजार ९०० रुपैयाँ र १६० स्ट्रीटको ३ लाख ८५ हजार ९०० रुपैयाँ पुगेको छ ।

पल्सर सिरिज १५० एसडी, टीडी र एन १५० मा ३ हजार रुपैयाँ बढेको छ । अब १५० एसडीको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ, टीडीको ३ लाख ३२ हजार ९०० रुपैयाँ र एनको ३ लाख ७४ हजार ९०० रुपैयाँ भएको छ । पल्सर १२५ नियोन र एन १२५ मा २ हजारका साथै एनएस १२५ मा ३ हजार रुपैयाँले बढेको छ । १२५ नियोनको नयाँ मूल्य २ लाख ७० हजार ९०० रुपैयाँ, एनको २ लाख ९९ हजार ९०० रुपैयाँ र एनएसको ३ लाख ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, पल्सरको एन १६० को दुवै भेरियन्टमा ३ हजार रुपैयाँ बढाइएको छ । पुरानो भेरियन्टको नयाँ मूल्य ४ लाख ४ हजार ९०० र अपग्रेड भेरियन्टको ४ लाख १७ हजार ९०० रुपैयाँ भएको छ भने एनएस २०० एफआई डीसी एबीएस बीएस ६ भेरियन्टमा ३ हजार बढेर ४ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य पुगेको छ । पल्सर २२० एफमा पनि ३ हजार रुपैयाँ नै मूल्य वृद्धि भएको छ अब यसको नयाँ मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ ।

यसका अलावा बजाज डिस्कोभर डिस्क भेरियन्टमा ३ हजार बढेर २ लाख ५२ हजार ९०० र एसटी भेरियन्टमा २ हजार बढेर २ लाख ५६ हजार ९०० रुपैयाँ पुगेको छ । बजाजको सबैभन्दा सस्तो मूल्यको मोडल प्लाटिना १०० ईएसमा पनि २ हजार रुपैयाँले बढाएर २ लाख १४ हजार ९०० रुपैयाँ पुर्याएको छ ।


Back_to_top