नेपाल आउँदै बजाज पल्सर एन १५०, यामाहा एफजेड एसभी ३ सँग सिधा प्रतिस्पर्धा

काठमाडौं । नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल हुन् । आफ्नो बजेट अनुसार ग्राहकले सकेसम्म राम्रो मोटरसाइकल छनोट गर्ने गर्छन् ।

यसै कुरालाई मध्यनजर गरी बजाजले नेपाली बजारमा पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमा बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनीले पल्सर एन १५० सार्वजनिक गर्ने तयारी गरेको हो ।

पल्सर एन १५० नेपालमा आएसंगै यसको सिधा प्रतिस्पर्धा यामाहाको १५० सीसी सेग्मेन्टमा रहेको एफजेडएस भी३ संग हुनेछ । इन्जिन क्षमता फिचरहरू समान हुने भएका कारण यी दुई मोडल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

आज हामिले यी दुई मोटरसाइकलमा रहेको भिन्नता बारे यहाँ चर्चा गरेका छौं । यसले तपाईंहरूलाई मोटरसाइकल छनोट गर्न सहयोग पुग्नेछ ।

डिजाइन

नेकेड स्पोर्टी डिजाइन रहेको यी दुवै मोटरसाइकलको ग्राफिक डिजाइन नयाँ रहेको छ । मस्कुलर लुक्स, एग्रेसिभ हेन्डल पोजिसन र सार्प फ्युल ट्यांक यी मोटरसाइकलमा पाउन सकिन्छ ।

इन्जिन

यामाहा एफजेडएस भी ३ मा १४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, फोर स्ट्रोक, टू भल्ब, बीएस ६, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १२.४ ब्रेकहर्स पावर र १३.३ एनएमको टर्क जेनेरेट गर्छ ।

बजाजले पल्सर एन १५० मा १४९.६८ सीसीको डवल सिलिन्डर, एयर कूल्ड, बीएस ६, एफआई इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम १४.५ ब्रेकहर्स पावर तथा १३.५ एनएमको टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

सस्पेन्सन, टायर

दुवै मोटरसाइकलमा ट्युबलेस टायर, सिंगल च्यानल एबीएस, चेन ड्राइभ र अलोय ह्वील रहेको छ । दुवैको फ्रन्टमा टेलिस्कोपिक फर्क दिइएको छ । फजेडएसको रियरमा एड्जस्टेवल मोनोक्रस सस्पेन्सन र पल्सर एनको रियरमा मोनोसक सस्पेन्सन रहेको छ ।

फिचर

यामाहा एफजेडएस भी३ मा स्प्लीट एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, इन्जिन काउल, ग्रयाब रेल, सिंगल पीस सीट, नेगेटिभ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कटअफ जस्ता फिचरहरू छन् ।

त्यस्तै, बजाजले सार्वजनिक गर्न तयारी अवस्थामा रहेको एन १५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेल्ल्याम्प, डिआरएल, सिंगल पीस सीट, यूएसबी चार्जिङ पोर्ट, गियर इन्डिकेटर, लो फ्युल इन्डिकेटर जस्ता फिचरहरू रहेका छन् ।

माइलेज

एफजेडएसमा १२.८ लिटरको फ्युल ट्यांक छ, भने पल्सर एनमा १४ लिटरको रहेको छ । कम्पनीका अनुसार एन १५० ले ४८ प्रति किलोमिटरको माइलेज दिन्छ। यसको टप स्पीड भने ११५ किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ ।

एफजेडएस को टप स्पीड ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ४५ किलोमिटरको माइलेज दिने कम्पनीको भनाई छ ।

मूल्य

यामाहाको एफजेडएस भी३ को स्ट्यान्डर्ड र डिलक्स दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध छ । एफजेडएस भी ३ बीएस ६ को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ र डिलक्सको ४ लाख ४ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको छ । बजाजले केही दिनपछि सार्वजनिक गर्ने तयारी थालेको एन १५० को मूल्य अहिलेसम्म तोकिएको छैन । ३ लाख ५० हजार हारहारीमा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top