६ वटा पुल निर्माण भइरहेको बेनी–कोरला सडकखण्डमा थप ८ पुल बन्ने

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । 

कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । 

अहिले ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र ८ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी–जोमसोम–कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए ।  

आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा पाँच करोड ७६ लाख रुपैयाँको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा पाँच करोड ९७ लाखमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ श्री गीता जेभीले पुल निर्माण गरिरहेको छ । 

त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख लागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले तीन करोड नौ लाखमा ठेक्का लिएको छ । 

सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ । 

दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । 

आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । 


Back_to_top