काठमाडौं । बीवाइडीको अफरोड एसयूभी मात्रै उत्पादन गर्ने फेङ चेङ बाओ ब्राण्डमा नयाँ ‘बाओ-३’ मोडल तयार भएको छ । चीन र यूरोपको लागि तयार पारेको बाओ-३ को डिटेल चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो ।
कम्पनीले यहि वर्षको अन्त्यबाट चीनमा बिक्री वितरण गर्ने नयाँ बाओ-३ मोडल त्यसपछि मात्रै यूरोपियन बजारमा प्रबेश गर्नेछ । यूरोपमा कम्पनीकै अर्को प्रिमियम ब्राण्ड डेन्जाको मातहतमा बिक्री हुनेछ । कम्पनीले चीनमा यसअघि फेङ चेङ बाओ ब्राण्डमा बाओ-५ ल्याइसकेको छ भने अब बाओ-८ र बाओ-३ थप्न लागेको हो ।
कम्पनीले बाओ-३ मा ७८.७२ किलोवाट आवरको लिथियम आइरन-फस्फेट (एलएफपी) ब्लेड ब्याट्री दिनेछ । यसमा प्रयोग भएको ब्याट्रीको साइज ५६० किलोग्राम हुनेछ । बाओ-३ को कुल तौल २१५० किलोग्राम छ, जसमध्ये ब्याट्रीको हिस्सा २५ प्रतिशत देखिन्छ ।
यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ५१० किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा अगाडि ११० किलोवाट र पछाडि २२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसको संयुक्त पीकपावर ३३० किलोवाट हुन्छ ।
बाओ-३ को लम्बाई ४६०५ एमएम चौडाई १९०० एमएम र उचाई १७२० एमएम रहेको छ । यसमा २७४५ एमएम लामो ह्वीलवेस रहने छ । यसको अप्रोच एङ्गल २५ र डिपार्चर एङ्गल २८ डिग्री रहेको छ ।