काठमाडौं । अमेरिकी कार ब्राण्ड फोर्डले नयाँ क्रसओभर मोडल काप्री बारे खुलासा गरेको छ । कम्पनीले नयाँ क्रसओभर मोडल काप्रीलाई कुपे डिजाइनमा तयार पारेको हो ।
आफ्नो मस्टाङ म्याकीको तुलनामा ३ इन्च छोटो साइजमा आउने काप्री मोडल कम्पनीको १९६८ देखि १९८६ सम्म बजारमा रहेको टु डोर काप्री मोडलबाट प्रेरित रहने छ । त्यतिबेला क्लासिक भेन्टेज कारको रुपमा काप्रीले राम्रो प्रभाव पारेको थियो ।

कम्पनीले नयाँ इलेक्ट्रीक काप्रीमा धेरै कुरा आधुनिक बनाएको छ । तर, पछाडिको भाग भने धेरै हदसम्म पुरानो कारसँग मिल्दोजुल्दो बनाएको छ । नयाँ कारको लम्बाई ४६३४ एमएम छ । यसमा १९ र २१ इन्चको ह्वील रहने छ ।
फिजिकल बटम बिनाकै ड्यासबोर्डमा १४.६ इन्चको इन्फोटेन्टमेन्ट स्कृन रहने कारमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहने छ । यसमा ५७० लिटर अट्ने बुट स्पेस पाउन सकिन्छ ।

फोर्ड काप्री मोडलमा २१३ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर दिएको छ । साथै, यसमा अल ह्वील ड्राइभ अप्सन पनि पाउन सकिन्छ । यसको अल ह्वील मोटर २५३ किलोवाटको छ ।
रियर ह्वील भर्सनमा ७७ र अल ह्वील भर्सनमा ७९ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको अधिकत रेन्ज ६२५ किलोमिटर रहने बताइन्छ । १३५ किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्ने ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म केबल २६ मिनेटमा चार्ज गर्न सकिन्छ ।

नयाँ काप्री मोडलमा आधुनिक एडास फिचरसहितको सुरक्षा फिचर पाउन सकिन्छ । सबै लाइट एलइडी रहने कारमा १० स्पीकर, मुड लाइट, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले जस्ता फिचर छन् ।

