काठमाडौं । चिनियाँ ब्राण्ड चांगानको अर्को ब्राण्ड अवतारको पहिलो एसयूभी काठमाडौं आइपुगेको छ । नाडा अटो शो २०२४ मा विशेष आकर्षणको रुपमा रहने अनुमान गरिएको अवतार-११ एसयूभी काठमाडौं आइपुगेको हो ।
नेपालका दुई ब्यवसायीक घराना सिजी ग्रुप र एमएडब्लू ग्रुपले मिलेर ल्याएको अवतार-११ मोडलको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले भन्सारबाट गाडी छुटाउनको लागि अधिकतम खुद्रा मूल्य प्रकाशन गर्दा १ करोड ४५ लाख राखेको हो । तर, बजारमा त्योभन्दा कम मूल्यमा बिक्री हुन सक्नेछ ।
अवतार ब्राण्डमा चांगानसँगै ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको पनि साझेदारी रहेको छ । टेस्ला मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने अवतार-११ मा स्ट्याण्डर्ड एयर सस्पेन्सन छ ।
सन् २०२२ मै चीनमा बिक्री सुरू भएको अवतारमा ९०.३८ किलोवाट आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।
अवतार-११ मा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहने छ । सीएचएन प्लेटफर्ममा बनेको एसयूभीको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएम र ह्वीलबेस २९७५ एमएम छ ।
कम्पनीले अवतार-११ मोडल ७५० हाइभोल्टेज प्लेटफर्ममा बनाएको हो । हाइभोल्टेज प्लेटफर्ममा बनेको कारण यसले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर रेन्ज टपअप गर्न सकिन्छ ।
यसको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन दिएको छ । पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्क्रीन समेत दिइएको छ । यसमा प्रयोग भएका सबै स्क्रृनहरू हुवावेको सफ्टवेरले संचालन गर्छ ।
प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोबाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सिलेसन तथा एक्टिभ साउण्ड इनह्याचमेन्ट सिस्टम सहितको १४ वटा स्पीकर पाउन सकिन्छ ।
हुवावेको जोयन्ट भेन्चरमा बनेकाले यो ईभीमा टेक्नोलोजीको प्रयोग भरपुर गरिएको छ । यसमा ३४ वटा फरक सेन्सर छ, जसले कम्प्लेक्स इन्टेलीजेन्ट ड्राइभलाई सहज बनाउँछ ।
अवतार-११ ईभीमा ३ वटा लाइडार रहेको छ । जसले हाइवे ड्राइभ र साँघुरा बाटाहरूमा पनि चालकलाई कुनै समस्या हुँदैन ।