काठमाडौं । चीन संसारको उदियमान शक्ति राष्ट्र हो । चीनमा हुने हरेक कुराको चासो संसारभरलाई हुन्छ, सँगै चीन सबैभन्दा ठूलो उपभोक्ता बजारसमेत हो । १ अर्ब ५० करोड हाराहारी जनसंख्या भएको चीन हरेक कुराका लागि उपयुक्त बजार हुनसक्छ । सवारी उत्पादक कम्पनीहरूका लागि चीन उर्भरभूमिको रुपमा रहेको छ ।
विश्वका प्रख्यात सवारी उत्पादक कम्पनीहरू तत्काल बिक्री गर्न सकिनेदेखि भविष्यमा आउनसक्ने कन्सेप्ट कार लिएर यतिबेला बेइजिङ पुगेका छन् । बेइजिङ अटो–शोमा बीएमडब्लू, ब्यूक, इनफिनिटी, लेक्सस, मर्सिडिज–बेन्ज, निसान, फक्सवागन, भोल्भो, टोयोटालगायतका धेरै ब्रान्ड उपस्थित भएका छन् । उक्त शोमा सयभन्दा बढी विद्युतीय सवारी प्रदर्शनी गरिने भएका छन् । चिनियाँ सवारी उत्पादक कम्पनीहरूले पनि विद्युतीय सवारीलाई बढी प्राथमिकता दिएका छन् ।
बेइजिङ अटो–शो सर्वसाधारणका लागि अप्रिल २९ देखि ४ मेसम्म खुल्ला हुनेछ । भीआईपी, मिडिया र विशेष अतिथिका लागि आजबाट खुल्ला गरिएको छ । उक्त अटो–शोमा आउन लागेका यी हुन्, विलाशी कार :
ब्यूक इन्सपायर
दुईदशक पहिले ब्यूकलाई जीएममा संकट पर्दा चिनियाँ बजारले बचाएको थियो । हाल ब्यूकका सवारी चीनमा लक्जरी इन्ट्रिलेवल कार ब्रान्डको रुपमा चर्चित छ । ब्यूकले आफ्नो विद्युतीय कार ‘इन्सपायर’ बेइजिङ अटो–शोमा सार्वजनिक गर्दैछ । उक्त इन्सपायर कार क्रसओभर कन्सेप्ट हो, जुन ३७० माइल रेन्जमा हुनेछ ।
मर्सिडिज मेबेक
जर्मन विलाशी कार निर्माता मर्सिडिजले बेइजिङमा नयाँ भिजन मर्सिडिज मेबेक लिमिटेड लक्जरी कन्सेप्ट सार्वजनिक गरेको छ । ७५० हर्सपावरको मेबेक अल–इलेक्ट्रीमा समेत डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
मर्सिडिज ए–क्लास
मर्सिडिजले बेइजिङमा अर्को मोडल ए–क्लास सेडान कारसमेत सार्वजनिक गरेको छ । यो कार थप सुविधासहित ल्याइएको कम्पनीले जनाएको छ ।
लेक्सस ईएस
विलाशी कार निर्माता लेक्ससले बेइजिङमा आफ्नो नयाँ कार ईएस सार्वजनिक गरेको छ । यो लेक्ससको सातौँ पुस्ताको लक्जरी सेडान हो ।
इनफिनिटी इलेक्ट्रीक
इनफिनिटीले बेइजिङ अटो–शोमा पूर्ण विद्युतीयकार सर्वजनिक गरेको छ । यो कार कम्पनीले अब चीनमै उत्पादन गर्ने उल्लेख गरेको छ ।
भोल्भो एस–९०
स्वीस कार निर्माता कम्पनी भोल्भोले बेइजिङमा आफ्नो नयाँ एस–९० एम्बीयन्स कन्सेप्ट कार सार्वजनिक गर्नेछ । यो कार भोल्भोको एस–९० भन्दा निक्कै विलाशी हुने कम्पनीले जनाएको छ ।
फक्सवागन लाभिदा र टोरेग
चिनियाँ बजारमा राम्रो पकड बनाउन सफल फक्सवागनले बेइजिङ अटो–शोमा दुईवटा नयाँ कार लाभिदा र एसयूभी टोरेग सार्वजनिक गर्दैछ । फक्सवागन लाभिदा सेडान चीनमा राम्रो बिक्री हुने कारमध्येमा पर्छ ।
निसान टेरा
जापानीकार निर्माता कम्पनी निसानले बेइजिङमा टेरा एसयूभी सार्वजनिक गर्दैछ । यो कार चिनियाँ डिजाइन भएको र चीनमै उत्पादन हुनेछ ।
बीएमडब्लू एमटू र एक्सफो
बीएमडब्लूले बेइजिङ अटो–शोमा नयाँ एमटू सार्वजनिक गर्दैछ । उक्त कार ४ सय ५ हर्सपावरको हुने कम्पनीले जनाएको छ । त्यस्तै, बीएमडब्लूले एक्सफो क्रसओभर पनि सार्वजनिक गर्ने भएको छ, जुन एसियाली बजारमा पहिलोपटक आएको हो ।

