काठमाडौं । भारत मोविलिटी एक्स्पो २०२५ आजबाट सुरु हुँदैछ । नयाँ दिल्लीमा सुरु हुन लागेको अटो एक्स्पोमा अधिकांश भारतमा कार उत्पादन गर्दै आएका ब्राण्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका हुन् ।
सुजुकीले पहिलो पटक ई-भिटारा बिक्री सुरु गर्दैछ । कम्पनीले बिक्रीको लागि ल्याउन लागेको ई-भिटाराको अलावा कन्सेप्ट कार पनि देखाउने अनुमान गरिएको छ ।
भारतीय अटोमोवाइल ब्राण्डमा टाटाले अभिन्याको परिस्कृत कन्सेप्ट देखाउन लागेको छ । साथमा ह्यारीयर ईभी, सिरिया मोडल र अहिले चल्तीमा रहेको टिगोर र टियागो ईभीको फेसलिफ्ट देखाउने तयारी गरिरहेको छ ।
महिन्द्राले बीई-६, एक्सईभी-९ई र ७ई जस्ता मोडल देखाउने छ । यसका अलावा कम्पनीले थार इलेक्ट्रीकको पनि कन्सेप्ट देखाउन सक्नेछ ।
हुन्डाईले क्रेटा ईभी र आयोनीक ९ मोडल देखाउने छ । कम्पनीले यसको साथमा नयाँ मोडलको कन्सेप्ट पनि देखाउने अनुमान गरिएको छ ।
कियाले ईभी-६ को फेसलिफ्ट मोडल सार्वजनिक गर्नेछ भने भारतमा उत्पादन गरेको सिरोस एसयूभी देखाउने छ ।
बीवाइडीले सिलायन-७ र एम-६ मोडल सार्वजनिक गर्दैछ । यी दुबै मोडल नेपालमा यसअघि नै देखाइएको मोडल हो ।
भियतनामको कम्पनी भिनफास्टले भी-५ र भी-७ मोडलको साथ भारतमा बिक्री सुरु गर्दैछ । भिनफास्ट नेपाल पनि आउने तयारी गरिरहेको ब्राण्ड हो ।
मोसिर ग्यारेजले एमजी-७ र एमजी-९ मोडल सार्वजनिक गर्दैछ । यसका अलावा टोयोटाले पनि आफ्नो पहिलो इलेक्ट्रीक कार अर्वान क्रुजर देखाउने अनुमान गरिएको छ । अन्य केही ब्राण्डले पनि नयाँ मोडल देखाउने छन् ।

