काठमाडौं । विश्व चर्चित प्रिमियम ब्राण्ड बीएमडब्लूका चीनमा बिक्री भएका १ लाख ८० हजार युनिट कार रिकल गरिएको छ ।
चीनमा उत्पादित र विदेशबाट आयात गरिएका १ लाख ७९ हजार ५२७ युनिट कारको वाइरिङमा खराबी देखिएपछि रिकल गरिएको हो ।
चीनको बजार नियमनका लागि राज्य प्रशासनले मंगलबार बीएमडब्लूका कुल १ लाख ७९ हजार ५२७ युनिट कार रिक घोषणा गरेको हो ।
एयर कन्डिसनिङको वायरिङ हार्नेस गलत तरिकाले जडान गरिएको र यसले आगलागीको जोखिम निम्त्याउन सक्ने भएकाले यो कदम चालिएको हो।
फिर्ता बोलाइएका मध्ये अधिकांश संख्या चीनमै उत्पादित ५ सिरिजका कारहरूको छ । जसमा ५ डिसेम्बर २०२३ देखि १२ अप्रिल २०२५ बीचमा उत्पादन गरिएका १ लाख ३३ हजार ८४९ युनिटहरू रहेका छन्।
त्यस्तै, १७ अक्टोबर २०२३ देखि ८ अप्रिल २०२५ बीचमा उत्पादन गरिएका ८ हजार ९७८ आयातित ५ सिरिजका कारहरू पनि समावेश छन्।
साथै, ९ जुन २०२२ देखि ३ अप्रिल २०२५ बीचमा उत्पादन गरिएका ३६ हजार ५२७ आयातित ७ सिरिजका कारहरू पनि रिकल गरिएको छ । अन्य १७३ वटा एम ५ कार रहेका छन् । यी गाडीहरू ४ जुलाई २०२४ देखि २ अप्रिल २०२५ को बीचमा उत्पादन गरिएका थिए।
यी कारमा मुख्य समस्या गाडीको अगाडिको क्याबिनमा रहेको एयर कन्डिसनिङ वायरिङ हार्नेसको जडान ९राउटिङ० मा छ । जुन पछि एयर फिल्टर एलिमेन्ट परिवर्तन गर्ने क्रममा क्षतिग्रस्त हुन सक्छ। गम्भीर अवस्थामा, यसले वायरिङ हार्नेसमा सर्ट सर्किट गराउन सक्छ र आगलागी हुन सक्छ।
बीएमडब्लूले रिकल गरिएका सवारी साधनहरूको वायरिङ हार्नेस निःशुल्क निरीक्षण गर्नेछ । त्यसलाई पुनः सुरक्षित रूपमा जडान गर्नेछ। यदि वायरिङ पहिले नै क्षतिग्रस्त भइसकेको छ भने, त्यसलाई परिवर्तन गरिनेछ। कतिपय सवारी साधनहरू पहिले नै मर्मत भइसकेका छन् ।
यो चीनमा बीएमडब्लूका लागि पछिल्लो रिकल मध्ये एक हो। यसअघि गत नोभेम्बरमा सफ्टवेयर समस्याका कारण ७ हजार ७४० युनिट विद्युतीय कार रिकल गरेको थियो । जसमा आइ थ्री, आइ फाइभ, आइ एक्स वान, आइ एक्स र आइ सेभेन सहितका ईभी मोडलहरू थिए ।
चीन बीएमडब्लूको विश्वकै सबैभन्दा ठूलो बजार हो।


