बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले २.६१ अर्ब अनुदान दिने

काठमाडौं । बीपी राजमार्गको पुनर्निर्माण गर्न जापानले साढे २ अर्ब अनुदान दिनेकाठमाडौं । गत असोजमा आएको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि जापान सरकारले साढे २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन (२.६१ अर्ब नेपाली रुपैयाँ)बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बाढीले भकुण्डेबेंसीदेखि नेपालथोकसम्म ३० किलोमिटर सडक क्षतिग्रस्ता बनाएको थियो । अब उक्त सडकलाई दुई लेनमा पुनर्निर्माण गर्न लागिएको हो ।

३० किमी सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । जसमा २५ किलोमिटरको ३ प्याकेजमा ठेक्का लगाइसकिएको छ ।

भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमी खण्डको ठेक्का लामा-नव कान्तिपुर जेभीले पाएको छ । कम्पनीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

त्यस्तै, चारसयबेंसीदेखि डालाबेंसीसम्म ८.५ किमी दूरीको ठेक्का खानी-कमलजित-एवान जेभीले पाएको छ । यसखण्डको १ अर्ब ४२ करोड रुपैयाँमा सम्झौता भएको छ ।

त्यसैगरी,  सिन्धुलीतर्फको बर्खेखोला नेपालथोक ४ किमी सडकखण्डको ठेक्का खरिढुंगा/घिसिङरक्षितिज जेभीले पाएको हो । कम्पनीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

ठेक्का लाग्न बाँकी ५ किमी खण्डमध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमी सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाइ दिने भएको छ । उक्त खण्डको अहिले जाइकाले फाइनल सर्भे गरिरहेको छ ।


Back_to_top