नाडाको बजेटमा सुझावः ५ काम गरे मोटरसाइकल र स्कुटरको बिक्री बढ्छ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि जेठ १५ गते संघिय संसदमा बजेट प्रस्तुत गर्दैछ । सरकारले बजेट निर्माणमा जुटेनुअघि नै सरोकारवाला निकायलाई सुझाव पेशगर्न भनेको थियो ।

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले पनि बजेटमा अटोमोवाइल क्षेत्र सुधार गर्न आवश्यक सुझाव दिएको छ । नाडाले दुई पाङ्ग्रे सवारीसाधनको बजार विस्तार गर्न सहयोग पुग्ने भन्दै ५ बुँदे सुझाव दिएको हो ।

नाडाले दिएको पहिलो सुझावमा आम उपभोक्ताको पहुँचमा दुई पाँगे्र सवारीसाधन पुर्याउन त्यसमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क महशुल दर घटाउन माग गरेको छ ।

नाडाले दिएको दोस्रो सुझावमा अहिले दुई पाङ्गे सवारीसाधनलाई ६ सेगमेण्टमा राखेर कर निर्धारण गरिएको छ । त्यसलाई घटाएर ४ तहमा राख्दा आफ्नो आवश्यकता अनुसारको मोटरसाइकल उपभोक्ताले खरिद गर्न सक्ने नाडाको भनाइ छ ।

सरकारले गर्नु पर्ने तेस्रो कामको रुपमा मोटरसाइकलमा लाग्दै आएको चर्को सडक मर्मत शुल्क केही कम गर्नु पर्ने विषय उल्लेख छ ।

नाडाको सुझावको चौथो बुँदामा भन्सार तथा यातायात व्यवस्था प्रणाली पूर्णतः कम्प्यूटराइज्ड भइसकेको अवस्थामा भन्सार र यातायात प्रणाली पनि एकिकृत गरी दर्ता र नामसारीका सम्पूर्ण प्रक्रिया अनलाइन तथा डिजिटलाइज्ड गरिनुपर्ने उल्लेख छ ।

त्यसैगरी नाडाको सुझावको पाँचौ बुँदामा सरकारका विभिन्न निकायहरुले विभिन्न चरणमा विभिन्न करहरु लिदै आएको र हाल यातायात व्यवस्था कार्यालयले समेत व्यवसाय कर बुझाउनुपर्ने व्यवस्था गरेकोले सो व्यवस्था हटाउन माग गरेको छ ।


Back_to_top