काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अक्टोवर २५ देखि सुरु हुने ‘जापान मोविलिटी शो’मा सुजुकी वर्गम्यान इलेक्ट्रीक सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले सुजुकी वर्गम्यान १२५ कै प्लेटफर्म प्रयोग गरेर बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीक र हाइड्रोजन पावरबाट चल्नेगरी तयार गरेको हो । कम्पनीले दुबै इलेक्ट्रीक र हाइड्रोजन भर्सन मोविलीटी शोमा प्रदर्शन गर्नेछ ।
सुजुकीले वर्गम्यान इलेक्ट्रीकमा ब्याट्री स्वाप गर्न मिल्ने बताएको छ । कम्पनीको तर्फबाट धेरै जानकारी बाहिर आएको छैन ।
जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीले वर्गम्यानको इलेक्ट्रीक भर्सन लामो समयदेखि भारतमा समेत परिक्षण गरिरहेको छ ।
भारतीय बजारमा कम्पनीले कस्तो योजना तयार पार्छ भन्ने कुरा जापान मोविलिटी शोमा सार्वजनिक भए पश्चात् मात्र अनुमान गर्न सकिन्छ ।
स्कुटरको अगाडि भागमा टेलिस्कोपिक फर्क र पछाडि दुवैतर्फ सक दिइएको छ । यसले स्कुटरमा प्रयोग भएको लिथियम आयोन ब्याट्रीको भारवहन गर्नेछ । यसमा प्रयोग भएको अलोय ह्वील भने रेगुलर आईसी इन्जिनको जस्तै देखिन्छ ।
भारतमा परिक्षणमा देखिएको वर्गम्यान इलेक्ट्रीकमा एलइडी हेडल्याम्प तथा एलइडी टेलल्याम्प रहेको छ । यसमा व्लुटुथ कनेक्टीभीटी सहितको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर प्रयोग हुनेछ ।

