काठमाडौं । नेपाली बजारमा सर्वाधिक सफल इलेक्ट्रीक ब्राण्ड बीवाइडीले ६ हजार युनिट आयात पुरा गरेको छ । सन् २०१७ बाट विद्युतीय सावारी साधन आयात थालेको साइमेक्स इंक प्रालिले ६ हजार १६४ युनिट विद्युतीय साधन आयात गरेको हो ।
विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता कम्पनीले अहिलेसम्म नेपाली बजारमा ई-६, अल न्यू ई-६, एम-थ्री, टी-थ्री, एटो-थ्री, डल्फीन, सिल र एम-६ मोडल ल्याएर बिक्री गरेको छ । जसमा सुरुमा उपलब्ध ई–६, अल न्यू ई–६, टी–थ्री र एम–थ्री जस्ता मोडल आयात बन्द भइसकेका छन् ।
अहिले कम्पनीसँग एटो-थ्री, डल्फीन, सिल र एम-६ जस्ता मोडल उपलब्ध छन् । कुनै समयको सर्वाधिक रेन्ज दिने अल न्यू ई-६ देखि सर्वाधिक पावरफुल सिलसम्म कम्पनीले आयात गरेको थियो । कम्पनीको चर्चित ब्याट्री ब्लेडको कारण पनि बीवाइडीका सवारी साधन चर्चामा रहेका छन् ।
कुन मोडल कति आए ?
बीवाइडीको सर्वाधिक सफल मोडल एटो–थ्री हो । कम्पनीले अहिलेसम्म ३ हजार ५१२ युनिट एटो–थ्री नेपाल ल्याएको छ । दुई भेरियन्टमा उपलब्ध एटो–थ्री स्पोर्टी क्रसओभर डिजाइनमा तयार भएको कारण धेरैले मनपराएका हुन् ।

दुई ब्याट्री अप्सनमा उपलब्ध एटो–थ्रीको मूल्य एड्भान्सको ५६ लाख ९० र सुपेरियरको ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । १०० किलोवाटको मोटरमा उपलब्ध एसयूभी अहिले पनि धेरै बिक्री हुने मोडल हो ।
ह्याचव्याक सेग्मेन्टलाई नै नेक्सट लेभलमा लाने डल्फीन फिचर लोडेड कार हो । नेपाल आएको करिब १५ महिनामा नै २ हजार १८५ युनिट डल्फीन आइसकेको छ । सुरुमा ३९ लाख ८० हजार र अहिले बढेर ४१ लाख १५ हजार मूल्य बनाइएको डल्फीन केबल एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

बीवाइडीले ई–६ मोडल २८६ युनिट ल्याएर बिक्री गरेको थियो । साथै, भ्यान पनि ५३ युनिट आयात गरेर बिक्री गरेको देखिन्छ । कम्पनीले नयाँ ल्याएको मोडल एम–६ एमपीभी नोभेम्बरमै १०१ युनिट आयात गरेको छ । जबकी डिसेम्बरमा पनि ठूलो संख्यामा एम–६ आइरहेको कम्पनीको भनाई छ ।

बीवाइडीको प्रिमियम सेडान सिल अहिलेसम्म ५ युनिट आयात भएको देखिन्छ ।

