काठमाडौं । बीवाइडी एटो-टु नेपाल प्रवेशसँगै चर्चाको शिखरमा छ । नहोस् पनि किन । बीवाइडीले अटोमोबाइल बजारमा ‘डंका पिटिरहेको’ समयमा मासिक ४० हजार किस्ता तिर्दा पुग्ने मूल्यमा एटो-टु आएको हो ।
बीवाइडी एटो-थ्री एसयूभी र डल्फिन ह्याचब्याक कारले विद्युतीय गाडीको संरचना र ईभी प्रेमीको चाहना नै बदल्न सफल भएको थियो । यी दुई मोडलको सफलतापछि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन, एटो-वान र एटो-टु एक महिनाको बीचमा नेपाल ल्याएको हो ।
नयाँ आएका तीन मोडल फरक सेग्मेन्टमा छन् । मूल्यका हिसाबले २९ लाखदेखि ७३ लाख रुपैयाँसम्म कायम भएका यी तीन मोडल मध्ये नाडा अटो शो २०२५ मा सार्वजनिक भएको एटो-टु अहिले बजारमा धेरै चर्चा भइरहेको मोडलमा पर्छ ।
बीवाइडीको एटो-टुको धेरै चर्चा हुनुमा ग्राउण्ड क्लियरेन्सको भूमिका निकै ठूलो देखियो । अन्तर्राष्ट्रिय बजारमा १९० र २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेकोमा नेपाली बजारमा २०० एमएम भएको मोडल आएको हो ।

ब्याट्री साइजको आधारमा पनि एटो-टु निकै उपयोगी देखियो । यसअघि नेपालमा अत्याधिक रुचाइएको एटो-थ्री एड्भान्स मोडलकोभन्दा ठूलो ब्याट्री रहनु थप बलियो पक्ष हो ।
एटो-थ्री एड्भान्समा ४९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेकोमा यसमा ५१ किलोवाटको ब्लेड ब्याट्री नै छ । पावर पनि १०० किलोवाटकै मोटरमा उपलब्ध छ । यसको पीकटर्क २९० न्यूटन मिटर छ, जुन अर्को बलियो पक्ष हो । तर, यसमा पनि एटो-थ्रीकै जस्तो फ्रन्ट ह्वील मोटर छ ।
सिंगल चार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दाबी गरिएको एटो-टु रेन्जको मामलामा पनि राम्रो देखिएको छ ।
बीवाइडीको ग्लोबल डिजाइन, सिग्नेचर बडी स्टाइल, सार्प एलईडी हेडल्याम्प, स्टाइलिस फ्रन्ट लुकले ग्राहक तान्ने नै भयो ।
अर्को महत्वपूर्ण कुरा बीवाइडीले नेपालमा बनाएको ब्राण्ड नेम, बिक्री नेटवर्क, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कले पनि सपोर्ट गर्छ ।
मूल्यले थप बलियो
एटो-टुको मूल्य निकै आकर्षक लाग्छ । बीवाइडीकै एटो-थ्री एड्भान्स भन्दा १२ लाख ९१ हजार कम मूल्यको एटो-टु निकै ‘भ्यालु फर मनी’ लाग्छ ।

एउटै मोटर साइज, उस्तै फिचर, उस्तै बडी डिजाइन र लगभग एउटै बडी साइज भएको एटो-टु बजारमा बढी रहेको प्राइस वारको कारण उपभोक्ताको लागि आकर्षक मूल्यमा आएको मान्न सकिन्छ । अहिले ४३ लाख ९९ हजार तोकिएको एटो-टु धेरै प्रिमियम ह्याचब्याक कार खोज्नेले पनि किन्न सक्ने अवस्था आएको छ ।
बीवाइडी कै डल्फिन ह्याचब्याक किन्ने मानिसले २ लाख ८४ हजार रुपैयाँ थपेर एसयूभी किन्न सक्नेछन् ।
मासिक ४० हजारभन्दा कम किस्ता
अहिले बजारमा ब्याजदर ७ प्रतिशतमा जति पनि कर्जा पाउने अवस्था छ । ७ वर्ष भित्र तिर्नेगरी कर्जा लिन पाइन्छ । एटो-टु किन्ने योजना बनाउनेसँग सुरूमा डाउन पेमेन्ट बापत बुझाउनु पर्ने मूल्यको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ हुनुपर्छ ।
डाउन पेमेन्टपछिको २६ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्छ । त्यसले अहिले चलेको ब्याजदरमा तिर्दा मासिक ३९ हजार ८३५ रुपैयाँ तिर्दा पुग्छ । तर, बजारमा ब्याजदर तलमाथि हुँदा भने किस्ता बापत बुझाउनु पर्ने रकम बढ्न वा घट्न सक्छ ।

