काठमाडौं । भारतमा महिन्द्राले देखाएको नयाँ इलेक्ट्रीक एसयूभी बीई-६ ई अहिले निकै चर्चामा छ । गाडी सार्वजनिक गरेको पहिलो दिनमा नै विश्वभर महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभीले स्थान पायो ।
विशेषगरी ठूला एसयूभी बनाउँदै आएको महिन्द्राले आफ्नो डिजाइनमा व्यापक परिवर्तन गर्दै दुई नयाँ विद्युतीय कार बजारमा देखाएपछि अहिले चर्चा चुलिएको हो । निकट भविष्यमा नै नेपाल आउने यी एसयूभी साइजका आधारमा बीवाइडी एटो-३ देखि चल्तीको दीपल एस-०७ सम्मका गाडीसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
महिन्द्राले मार्चबाट बिक्री सुरू गर्ने बीई-६ई मोडल नेपाली बजारमा बीवाइडी एटो-३ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ । साइज, फिचर र डिजाइनमा मुख्य प्रतिस्पर्धा हुने यी दुई मोडलमा रहने समानता र भिन्नता यस प्रकार छन् ।
ब्याट्री र मोटर साइज
विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण विषय ब्याट्री हो । बीवाइडी एटो-३ अहिले ५० र ६० किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीमा उपलब्ध छ ।
महिन्द्राले बीई-६ ईलाई ५९ र ७९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीमा ल्याउने छ । दुवै कारमा ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री प्रयोग भएको हो ।
मोटर
बीवाइडी एटो-३ को एड्भान्स र सुपेरियर दुवै भेरियन्टमा समान १०० किलोवाटको मोटर दिइएको छ । महिन्द्राले भने ब्याट्री साइज अनुसार १७० र २१० किलोवाट क्षमताको मोटर दिएको छ ।
सम्भवतः महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले १७० किलोवाट क्षमताको मोटरमा यसलाई नेपाल ल्याउने छ ।
इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल क्लष्टर
बीवाइडी एटो-३ मा १४.६ इन्चको विशाल ठूलो इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । यसमा इन्फर्मेशन डिस्प्ले भने ५ इन्चको छ ।
महिन्द्राले भने दुवै डिस्प्ले समान १२.३ इन्चको छ । एक आपसमा जोडिएका दुई स्क्रीनले ड्यासबोर्ड उत्कृष्ट देखाएको छ ।
साइज
साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई-६ईको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
बीवाइडी एटो-३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६१५ एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
बीवाइडी एटो-३ मा १८ इन्चको ह्वील र १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । जबकि महिन्द्रा बीई-६ ईमा २०७ एमएम ग्राउन्ड क्लियरेन्ससँगै १९ र २० इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।
अन्य फिचर
दुवै एसयूभीमा एडास २.० लेभल फिचर छन् । ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ लगायतका फिचर समान छन् ।
पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा जस्ता फिचर रहेका दुवै गाडी एक अर्काका कडा प्रतिस्पर्धी हुने देखिन्छ ।
मूल्य
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले एटो-३ को एड्भान्स भर्सन ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको ६७ लाख ८० हजार रुपैयाँ तोकेको छ ।
भारतमा १८ लाख ९० हजार भारतीय रुपैयाँ सुरूआती भेरियन्टको मूल्य रहेको बीई-६ईको नेपालमा अनुमानित मूल्य ५५ देखि ६० लाख भित्रै हुने देखिन्छ ।