काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीले केबल ९ मिनेटमा फुल चार्ज हुने गाडी सार्वजनिक गरेको छ । कम्पनीले ९ मिनेट चार्ज गरेर १०३६ किलोमिटर चलाउन सकिने विद्युतीय कार ल्याएको हो ।
बीवाइडीले आफ्नो प्रिमियम ब्राण्ड डेन्जाको ‘जेड नाइन जीटी’ सार्वजनिक गरेसँगै यसको रेन्ज र चार्जिङ टाइमले निकै ठूलो चर्चा बटुलिरहेको छ ।
रियर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध डेन्जा जेड नाइन जीटीमा ३७० किलोवाट क्षमताको मोटर छ । जेड नाइन मात्रैमा भने दुई फरक मोटर दिइएको छ । जीटी मोडलले २.७ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउने छ ।
बीवाइडीले नयाँ जेनेरेशन ब्लेड ब्याट्री यसमा प्रयोग गरेको छ । यसले १५०० किलोवाटको डीसी चार्जर सपोर्ट गर्छ । त्यसैले यसलाई ९ मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
यसअघि पनि बजारमा रहेको डेन्जा जेड नाइनमा कम्पनीले थुप्रै परिमार्जन गरेर बिक्री थालेको हो । हिजो मार्च ५ तारिखमा कार्यक्रम गरेर कम्पनीले नयाँ जेड नाइन जीटी सार्वजनिक गरेको थियो ।
कम्पनीले यसको बोनेटको डिजाइन र फ्रन्ट फेसियामा देखिनेगरी परिवर्तन गरेको छ । नयाँ जेड नाइन जीटीमा लाइडारहरु थप भएका छन् । ह्वीलको डिजाइनमा परिवर्तन भएको छ । कारको पछाडिको भाग पनि परिवर्तन देख्न सकिन्छ ।
निकै लोभलाग्दो क्याविन रहेको कारमा तीनवटा स्कृन दिइएको छ । प्रिमियम फिचरहरुले भरिपूर्ण यो कारमा सिट, ड्यासबोर्ड, सेन्टर कन्सोलमा प्रयोग भएको मेटेरियल उच्च गुणस्तरका छन् ।

