बीवाइडीको ध्यान इलेक्ट्रीक मोटरसाइकल र स्कुटरमा

काठमाडौं । चीनको ‘न्यू इनर्जी भेहिकल’ तथा ब्याट्री निर्माता कम्पनी बीवाइडीले दुई पाङ्ग्रे सवारीसाधनमा पनि हात हाल्ने भएको छ । कम्पनीले आज चीनमा एक विशेष कार्यक्रम गर्दै यसको घोषणा गर्न लागेको हो ।

फेब्रुअरी २३ तारिखको दिन चीनको न्यानकिङ जिल्लामा एकै दिन दुई पाङ्ग्रे साधनमा भएको आगलागीको घटनामा १५ जनाले ज्यान गुमाएका थिए । साथै उक्त घटनामा ४४ जना घाइते भए । त्योसँगै इलेक्ट्रीक स्कुटरको सुरक्षाको विषयमा चीनमा ठूलो बहस चलिरहेको छ ।

सुरक्षाको चासो बढेसँगै बीवाइडीले सुरुमा दुई पाङ्ग्रे साधनको लागि आफ्नो ब्याट्री कम्पनी फिनड्रिम्सले नयाँ ब्याट्री उत्पादन गर्ने घोषणा आज फेब्रुअरी २६ मा गर्न लागेको हो ।

फिनड्रिम्सले बनाएको कारको ब्लेड ब्याट्री सबैभन्दा सुरक्षित मानिन्छ । त्यस्तै किसिमको सुरक्षीत ब्याट्री उत्पादन गर्ने घोषणा कम्पनीले गर्न लागेको हो । कम्पनीले बनाउने नयाँ ब्याट्री इलेक्ट्रीक मोटरसाइकल, स्कुटर र अन्य पर्फमेन्स बाइकहरु लागि उपयुक्त हुनेछ ।

‘हाम्रो लक्ष्य उपभोक्ताले कुनै चिन्ता बीना ब्याट्री प्रयोग गर्न सकुन् भन्ने हो’, कम्पनीले नयाँ ब्याट्री उत्पादनमा प्रबेश गर्नुअघि भनेको छ ।

उसोत बीवाइडीले यसअघि पनि केही कम्पनीको लागि ब्याट्री बनाउने सम्झौता गरिसकेको छ । कम्पनीले सन् २०२३ मा नै सिंगापुरको एक दुई पाङ्ग्रे इलेक्ट्रीक साधन निर्माता ‘स्कर्पियो इलेक्ट्रीक’को लागि ब्याट्री एसेम्बल गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार एक्स-१ स्कुटर आइसकेको छ । त्यस्तै कम्पनीले स्पेनिस मोटरसाइकल ब्राण्ड नेर्भालाई पनि ब्याट्री बनाएको थियो । कम्पनीले ५.७६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री बनाएको थियो ।


Back_to_top