नेपालमा इलेक्ट्रीक कारको लिडर बन्ने दाउमा विवाइडी, यस्ता छन् रणनीति

काठमाडौं । विद्युतीय गाडी विक्रेता उत्पादक कम्पनी विवाइडीका उत्पादन सन् २०१७ देखि नेपाली बजारमा विक्री हुँदै आएका छन् । विश्व बजारमा घट्दो व्याट्रीको मूल्यसँगै नेपालमा पनि विवाइडीका उत्पादनहरुको मूल्य घट्दै गएको छ ।

नेपालमा पहिलो पटक विवाइडीले इ-६ इलेक्ट्रीक एमपीभी नेपाल ल्याएको थियो । सुरुका दिनमा करिब ८० लाख मूल्य निर्धारण गरेर विक्री सुरु भएको विवाइडी इ-६ को मूल्य अहिले ५० लाखमा झरेको छ । अब कम्पनी एउटा मोडल मात्रैको भरमा छैन । उसले इलेक्ट्रीक भ्यानका दुई भेरियन्ट बजारमा ल्याएको छ ।

सात जना र ५ जना बोक्न मिल्ने एम थ्री भ्यान र कार्गो बोक्न मिल्ने टी थ्री भ्यान विवाइडीको लाइनअपमा जोडिएका थप मोडल हुन् । यी दुबै गाडी मूल्यको हिसावले ३६ लाखदेखि ४५ लाख भित्रको मूल्यमा उपलब्ध रहेका छन् ।

विवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक यतिमा नै रोकिएको छैन । उसले इ-६ को नयाँ जेनेरेशन मोडल पनि नेपाल ल्याएको छ । कम्पनीले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ जेनेरेशन इ-६ को मूल्य ६० लाखभन्दा कम नै राखेर विक्री सुरु गरेको छ ।

‘हामी गाडी विक्री मात्रै चाहँदैनौं, ग्राहकले उत्कृष्ट सर्भिस र वारेन्टी पाउनु पर्छ भनेर लागेका छौं । त्यसको आवश्यक पूर्वाधार र जनशक्ती उत्पादन हाम्रो प्राथमिकतामा रहेका छन्’, साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेक्ष्ठले भनिन् ।

उनका अनुसार सर्भिस, व्याट्री टेक्नोलोजी र चार्जिङ नेटवर्कमा काम गर्ने अलगै टीम तयार भएको छ ।

सरकारी निकायबाट यात्रा सुरु

विवाइडी इ-६ नेपाल आएसँगै राष्ट्रिय योजना आयोग, नेपाल विद्युत प्राधिकरण, राष्ट्रपतिको कार्गेट, उर्जा मन्त्रालय लगायतका सरकारी निकायमा गाडी विक्री गरेर सुरु भएको हो ।

इ-६ पछि अर्को मोडल तत्काल नेपाल नल्याउँदा साना गाडी किन्ने ग्राहकलाई यसले आफुसँग जोड्न सकेको थिएन । अहिले विस्तारै समय परिवर्तन भएको छ । अब कम्पनीसँग एमपीभी, भ्यान र कार्गो भ्यानको अप्सन उपलब्ध छ भने चाँडै नयाँ मोडल थप गर्ने योजनामा कम्पनी रहेको छ ।

आउँदै नयाँ मोडल

‘सन् २०२२ को पहिलो क्वाटरसम्म विवाइडी EA1 नेपाल आउने साइमेक्स इंकले जनाएको छ । विवाइडी EA1 चीनमा पनि निकै प्रतिक्षा गरिएको मोडल हो । प्रिमियम ह्याचव्याक सेग्मेन्ट आउने यो कारले सानो बडीमा धेरै रेन्ज खोज्ने ग्राहकको आवश्यकता पुरा गर्ने अनुमान गरिएको छ ।

विवाइडीको ‘आफ्नो पछिल्लो ३.० इ-प्ल्याटफर्म’मा बनाउन लागेको यो गाडी हलुका, सानो, बलियो तथा कम इनर्जी खपत गर्ने रहेको कम्पनीले दावी गरेको छ । यस प्ल्याटफर्मले ८९ प्रतिशत इफिसियन्सी बढाउने छ ।

विवाइडीले ३.० मा आधारित गाडीमा अल्ट्रा-सेफ ब्लेड व्याट्रीको प्रयोग यसमा गर्नेछ । दुई साइज र व्याट्री अप्सनमा आउने यो गाडीको लम्बाई ४०७० एमएम र ४२६१ एमएमको हुनेछ । यी गाडीमा २७०० एमएमको ह्वीलवेस प्रयोग हुने कम्पनीले उल्लेख गरेको छ ।

अहिलेसम्म कम्पनीले व्याट्री साइजको विषयमा जानकारी नदिएपनि एक पटकको फुल चार्जमा ४०० देखि ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग हुनेछ ।


Back_to_top