बीवाइडीको सवारी विक्री टेस्लाकोभन्दा तेब्बर धेरै

काठमाडौं । चीनको प्रमुख न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीले एक महिनामा चीनमा मात्रै २ लाख १७ हजार ८०० यूनिट कार विक्री गर्न सफल भएको छ । कम्पनीले अक्टोबर महिनामा मात्रै उक्त संख्यामा कार विक्री गरेको हो ।

बीवाइडीले सेप्टेम्बर महिनामा २ लाख १ हजार ३०० यूनिट विक्री गरेको थियो । सेम्टेम्बरको तुलनामा बीवाइडीले ८.२ प्रतिशतले विक्री बढाउन सफल भएको हो । अक्टोबरमै टेस्लाको विक्री पनि ७१ हजार ७०४ युनिट पूगेको छ । बीवाइडीको विक्री चिनियाँ बजारमा टेस्लाकोभन्दा तीन गुणा धेरै भएको हो ।

बीवाइडीको विक्रीमा सोङ मोडल ५६ हजार ८४३ यूनिट सहित सबैभन्दा धेरै भएको छ । त्यस्तै, हान मोडल ३१ हजार ६१४, ट्याङ १७ हजार १६१, क्वीन ३४ हजार ६७०, युवान २७ हजार ५४८ यूनिट विक्री भएको छ ।

त्यस्तै बीवाइडी ओसियन सिरीजमध्ये ११ हजार २६७ यूनिट सिल, ९११ डेस्ट्रोयर तथा २५ हजार ३३६ यूनिट डल्फिन विक्री भएको हो ।

गत वर्षको लगानी कर्ता भेलामा बीवाइडीले १५ लाख यूनिट कार विक्री हुने अपेक्षा गरेको थियो । तर, बढ्दो विक्री आंकडाका अनुसार सन् २०२२ को विक्री २० लाख यूनिट पूग्ने सम्भावना देखिएको छ । सुकाउ सेक्यूरेटिजको प्रक्षेपण अनुसार सन् २०२३ मा बीवाइडीको विक्री ३० लाख कट्नेछ ।

बीवाइडीले चाइनाको विक्री मात्र नभइ ओभरसिजमा समेत २३.१८ प्रतिशतले विक्री बढाउन सफल भएको छ । अक्टोबरमा ओभरसिज मार्केटमा बीवाइडीको ९ हजार ५२९ यूनिट विक्री भएको छ । जुन अघिल्लो महिना ७ हजार ७३६ यूनिट मात्र रहेको थियो ।

बीवाइडीले यो वर्षको तेस्रो क्वाटरमा १७ हजार यूनिट गाडी निर्यात गरिसकेको छ । बीवाइडीले नेपाल, भारत, सिंगापूर, अष्ट्रेलिया लगायत यूरोपियन देशहरूमा विक्री गर्दै आएको छ ।


Back_to_top