काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ‘सिल ०५ डीएम-आई हाइब्रिड’ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ हाइब्रिड मोडलको मूल्य १२ हजार २५० देखि १५ हजार अमेरिकी डलर रहेको छ ।
बीवाइडीको पाँचौ जेनेरेशन डीएम-आई हाइब्रिड टेक्नोलोजी दिइएको सिल ०५ मोडल एक सेडान कार हो । बीवाइडी सिल नेपाली बजारमा पनि उपलब्ध छ । तर, बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले हाइब्रिड मोडल भने ल्याएको छैन ।
सिल ०५ मोडलको लम्बाइ ४७८० एमएम, चौडाइ १८३७ एमएम र उचाइ १५१५ एमएम छ । कम्पनीले उक्त गाडीमा १.५ लिटर नेचुरल्ली एस्पायर्ड इन्जिन दिएको छ । साथै, कम्पनीले यसमा ७.६८ किलोवाट आवर र १५.९ किलोवाट आवरका दुई ब्याट्री अप्सन दिएको छ । यसको प्योर इलेक्ट्रीक रेन्ज ९० किलोमिटरसम्म रहेको छ ।
हाइब्रिड मोडमा भने ३.९ लिटर पेट्रोलले १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । फुल ट्याङ्की इन्धनबाट यसलाई २ हजार किलोमिटर चलाउन सकिने कम्पनीको भनाइ छ ।

