काठमाडौं । चीनमा निकै चर्चा पाइरहेको जीएसी एवोन युटी ह्याचव्याक कारको प्रि-सेल्स सुरु भएको छ । बीवाइडी डल्फीनको मुख्य प्रतिस्पर्धी मोडल भनेर यसअघि नै चर्चामा आएको एवोन युटी मोडलको मूल्य पनि डल्फीनको तुलनामा १ हजार ३५० अमेरिकी डलर कम तोकिएको हो ।
जीएसीले युटी ह्याचव्याक कारको चिनियाँ बजारमा मूल्य १२ हजार ३०० देखि १५ हजार अमेरिकी डलर कायम गरेर बिक्री गर्न लागेको हो । चीनमा युटी ह्याचव्याकको मूल्य १७ लाख नेपाली रुपैयाँभन्दा कम हुनेछ ।
जीएसीले एवोन युटीमा ब्याट्री साइज पनि लगभग डल्फीन कै जत्रो प्रयोग गरेको छ । यसमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसको सीएलटीसी रेन्ज ४२० किलोमिटर भनिएपनि रियल वर्ल्डमा ३४० किलोमिटर हाराहारी आउने अनुमान गर्न सकिन्छ । मोटर भने १०० किलोवाटको छ ।
एवोन युटीको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहने छ । १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसमा लामो ह्वीलवेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ । निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको एवोन युटीमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट दिएको देखिन्छ । साथै, हेडलाइट र फगलाइट पनि यसमा पृथक देखिन्छ । एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ । ठूलो एयर इन्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बीनेसन हो ।
पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ । यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।