फुलचार्जमा ३१० किमि चलाउन मिल्ने डेलीभरी भ्यान नेपाल आउदै, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक मोटर उत्पादक कम्पनी बिवाइडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इंकले नयाँ इलेक्ट्रीक भ्यान ल्याउने भएको छ । नयाँ भ्यान नेपाल ल्याउने भएसँगै कम्पनीले यसको जानकारी दिन सुरु गरेको हो ।

कम्पनीले बजारमा ल्याउन लागेको यो डेलीभरी भ्यान सामान ओसार पसार गर्न निकै उपयोगी हुने साइमेक्स इंकले जनाएको छ ।

बिवाइडी टिथ्रीको दुबै ढोका स्लाइडिङ गर्न मिल्ने रहेको छ । यस्तो ढोकाले गाडीमा सामान राख्न र झिक्न निकै सजिलो हुने गर्छ । आधुनिक फिचरहरूले सुसज्जित यो भ्यानमा ३.८ स्क्वायर मिटरको विशाल कार्गो स्पेस रहेको छ । यस भ्यानमा सुरक्षाका लागि इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम रहेको छ ।

यस भ्यानमा ५०.३ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । उक्त व्याट्रीलाई एक पटक फुलचार्ज गर्दा ३१० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । टिथ्रीको रेञ्जलाई सपोर्ट गर्न यसमा रिजेनरेटेड ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।

कोरोना भाइरसको कारण चलिरहेको लकडाउनले भन्सारमा रेकिएको यो भ्यान लकडाउन सकिएसँगै नेपाल भित्रने साइमेक्स इंककी एमडी यमुना श्रेष्ठले मेरोअटोलाई जानकारी दिइन् । यस भ्यानको नेपाली बजारमा मूल्य ४९ लाख तोकिएको छ ।

विगत चार बर्षदेखि नेपालमा इलेक्ट्रीक सवारीसाधन बिक्री गर्दै आएको इंकले टिथ्री सहित बीवाइडी ब्रान्डका अन्य गाडीहरू एम थ्री र ई६ पनि बिक्री गरिरहेको छ ।


Back_to_top