काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले काभ्रेको धुलिखेलमा आफ्ना विद्युतीय गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काभ्रे जिल्लाका उद्योग, बाणिज्य र राजनीतिक क्षेत्रमा आवद्ध रहेका मानिसहरुलाई बोलाएर ब्राण्ड प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको हो ।
धुलिखेलकै पुरानो मध्येको एक होटल हिमालयन होराइजनमा आयोजना भएको टेष्ट ड्राइभ कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका धुलिखेल नगरपालीकाका मेयर अशोक बेञ्जुले कार्वन उत्सर्जन घटाउने नगरपालीकाको योजनामा विद्युतीय गाडी महत्वपूर्ण हुने धारणा राखेका थिए ।
बीवाइडीले विक्री गर्दै आएको इ सिक्स, नयाँ जेनेरेशन इ सिक्स र एम थ्री एमपीभीको टेष्ट ड्राइभ गराएको थियो । पछिल्ला दिनमा आक्रमक बजार विस्तारको रणनीति तयार गरेर काम गर्दै आएको साइमेक्स इंकले केही दिनअघि यस्तै किसिमको कार्यक्रम काठमाडौंको बालुवाटरमा पनि गरेको थियो ।

चिनियाँ ब्राण्ड बीवाइडीले सन् २०१७ देखि नेपाली बजारमा साइमेक्स इंक मार्फत आफ्ना विद्युतीय गाडी उपलब्ध गराउँदै आइरहेको छ । निकट भविष्यमा ह्याचव्याक र एसयूभी मोडलका गाडी ल्याउने तयारी गरिरहेको कम्पनीले देशका विभिन्न सहरमा ९ वटा शोरुम संचालनमा ल्याउदै छ ।

