काठमाडौं । साँग्रिला मोटर्सले नेपाल ल्याउने घोषणा गरेको नयाँ ब्राण्ड सिट्रोनको पहिलो गाडी C5 Aircross हुने भएको छ । कम्पनीले ल्याउने C5 Aircross क्रसओभर एसयूभी सेगमेन्टमा बिक्री हुँदै आएको गाडी हो ।
फेन्च प्रिमियम कार उत्पादक सिट्रोन सुन्दर कार उत्पादनमा नाम कहलिएको ब्राण्ड हो । भारतीय बजारमा अबको केहि महिनापछि बिक्री सुरु हुन लागेको सिट्रोनको C5 Aircross नेपाली बजारमा मार्चको अन्तिमसम्ममा बिक्री सुरु हुने अनुमान गरिएको छ ।
साँग्रिला मोटर्स स्रोतका अनुसार सिट्रोन सि ५ एयरक्रसको नेपाली बजारमा मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाखको बीचमा रहने छ । महंगो मूल्यमा पर्ने यो क्रसओभर एसयूभीमा रहेका मुख्य फिचर यस प्रकार रहेका छन् ।
१. बाहिरी बनोट
झट्ट हेर्दा सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार भएको एसयूभी जस्तो देखिने C5 Aircross त्यतिकै स्पोर्टी देखिन्छ । अगाडिको भागलाई स्पोर्टी देखाउन यसमा स्प्लीट हेडल्याम्पको प्रयोग गरिएको छ । चंकी स्टाइलको बम्पर, स्वीपीङ ग्रिलले गाडीलाई आकर्षक बनाएको छ ।
२. साइज
लम्बाइमा यो एसयूभी कोरोला क्रसको साइजमा उपलब्ध रहेको छ । यसको लम्बाई ४५०० एमएम, चौडाई १८४० एमएम र उचाई १६७० एमएम रहेको छ । यसमा २७३० एमएमको ह्वील वेस दिइएको छ । यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

३. इन्टेरियर
निकै मोर्डन लुक्समा तयार भएको यसको क्यावीनले जो कोहिलाई लोभ्याउँछ । दुई कलरले सजाइएको ड्यासबोर्ड, स्प्लीट एयर कोन भेन्ट निकै आकर्षक रहेको छ । यसमा थुप्रै आधुनिक फिचर दिइएको छ । ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक एसी, स्टेरिङ माउन्ट बटम, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, स्मार्ट हेडल्याम्प, एटेन्सन एसिस्ट, मल्टीपल एयरव्याग, क्रस ट्राफिक डिटेक्सन, हिल होल्ड एसिस्ट जस्ता फिचर पाउन सकिन्छ । समग्रमा भन्दा C5 Aircross पूर्ण लोडेड एसयूभी हो ।
४. इन्जिन
अन्तर्राष्ट्रिय बजारमा सिट्रोन C5 Aircross १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यी दुबै इन्जिन टर्बो चार्ज्ड इन्जिन हुन् । यसमा रहेको १.२ लिटर पेट्रोल इन्जिनले १३० हर्स पावर र १.५ लिटर डिजेल इन्जिनले १८० हर्स पावर प्रदान गर्छ । तर, भारतमा यसलाई कम्पनीले २.० लिटर इन्जिनमा ल्याउने जनाएको छ । यस्तोमा नेपाल आउने सि ५ एयरक्रसमा कुन इन्जिन हुने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


