नेपालमा गाडी उत्पादनको चर्चा र संभावनालाई पुरा गर्न आवश्यक ४ कुरा

नेपालमा गाडी उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने विषय अहिले चर्चामा रहेको छ । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्न लगानी बोर्ड मार्फत लगानी प्रस्ताव गरेपछि नेपालमै गाडी उत्पादन गर्ने विषयले चर्चा पाएको थियो । तर, बिक्रम संम्बत २०५४ सालमा नै गोल्छा अर्गनाइजेशनले हुलास मोटर्सको स्थापनागरि नेपालमा गाडी उत्पादन सुरु गरेको इतिहास हामीसँग रहेको छ ।

अहिले गाडी उत्पादन वा एसेम्बल प्लान्ट स्थापना गर्न केहि कम्पनी नेपालमा दर्ता भएका छन् । ति कम्पनीले गाडी तत्काल एसेम्बल गर्लान वा नगर्लान त्यो अर्को कुरा भयो तर, पुनः एक पटक नेपालमा गाडी उत्पादन गर्ने विषयले चर्चा भने पाएको छ । यहाँ नेपालमा गाडी उत्पादन वा एसेम्बलको चर्चा गरिरहँदा हुलास मोटर्स किन बन्द भयो भन्ने विषय थाहा पाउन भने आवश्यक हुन्छ ।

प्रतिफलको ग्यारेन्टी बजारले निर्धारण गर्छ । त्यसमा पनि नयाँ क्षेत्रमा लगानी गर्दा राज्यले नै आवश्यकताको हिसावले अनुदान, सहुलियत वा छुटहरु प्रदान गर्नु पर्ने हुन्छ ।

बिक्रम संम्बत २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले नेपाली उत्पादन भनेर हुलासको मुस्ताङ म्याक्स गाडी चढेका थिए । त्यतिबेला खुबै चर्चा पाएको हुलासको गाडी भट्टराईको कार्यकाल सकिएको कहि समयपछि नै पूर्णरुपमा बन्द भयो । यो प्लान्ट किन बन्द भयो भन्ने विषयमा न गाडीका पारखीले चासो राखे, न त सरकार संचालक वा नेपालमा नै गाडी बनाउनु पर्छ भन्ने समूहले बुझ्न चाहे ।

सरकारले लिएको नयाँ प्रदुषण मापदण्डको शिकार भएको हुलास मोटर्सले त्यति बेला यूरो १ बराबरको सवारी उत्पादन गर्दै आएको थियो । एक्कासी यूरो १ बाट यूरो ३ वा सो-सरहको ‘नेपाल प्रदुषण मापदण्ड ३’ लागु हुँदा कम्पनीले केहि थप समय माग गरेको थियो तर, राज्य संचालकले त्यो उद्योगलाई बचाउन कुनै चासो दिएनन् । हुलासले थप समय पाएन । र, अन्तत हुलासको मुस्ताङ गाडी सदाको लागि बन्द भयो ।

हुलास माेटर्सकाे नेपाल प्लान्ट

अहिले हुलासले यहि प्लान्टमा इलेक्ट्रीक रिक्साको उत्पादन गरिरहेको छ भने इलेक्ट्रीक कार उत्पादन गर्न दिनरात नभनि काम गरिरहेको छ । तर, अहिलेपनि उद्योगको गुनासो भने जहाँको त्यहिँ रहेको छ । इलेक्ट्रीक कारमा बढाइएको कर र पार्टस आयातमा हुने कठिनाईलाई कम गर्न राज्यले कुनै सहायता नगरेको उसको गुनासो छ ।

अहिले चर्चामा रहेको नेपालमा कार एसेम्बल प्लान्टको विषयमा थप कुरा गर्नुअघि यी ४ कुरालाई राम्रोसँग बुझ्न जरुरी हुन्छ ।

१. संभावित बजारः नेपालमा गाडी उत्पादनको चर्चा शुरु हुनु राम्रो पक्ष भएपनि अहिलेको बजारलाई हेरेर आवश्यकता र संभावना पर्गेल्नु पर्छ । हामी कहाँ अहिले वार्षिक १२ देखि १५ हजार यूनिट कारको बिक्री हुने गर्दछ । यति गाडी बिक्री गर्न करिब १५ भन्दा धेरै ब्राण्डले आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् ।

अहिले नेपालमा सबैभन्दा धेरै संख्यामा कार बिक्री गर्ने कम्पनीले मुस्किलले ४ हजार यूनिट गाडी बिक्री गर्दै आएको छ । ४ हजार यूनिट कार बिक्री गर्दा उसले ८ देखि १० मोडल बिक्री गर्दै आएको छ । यस्तोमा नेपालमा नै उसले बिक्री गर्ने सम्पूर्ण सवारी साधन उत्पादनको सम्भावना रहँदैन । विभिन्न रिपोर्टका अनुसार नेपाल जत्रो देशमा एउटा ब्राण्डको २/३ वटा मोडल वार्षिक ६ हजार यूनिट विक्री गर्न सक्ने अवस्थामा मात्रै कुनै पनि ब्राण्डले लगाउने एसेम्बल उद्योग राम्रोसँग संचालन हुन सक्छ ।

अहिले नेपालमा बिक्री हुने हुन्डाई, महिन्द्रा र टाटा जस्ता कम्पनीले बेला बखतमा यहाँको सम्भावनालाई नजिक बाट नियाल्दै आएका छन् ।

२. सहायक कम्पनीः नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्ने हो भने उसले वा अन्य उद्योगीले खोल्ने सहायक कम्पनीहरु खुल्ने आधार सरकारले तयार गर्नु पर्छ । सवारी साधनमा लाग्ने पार्टस्को सुरुवातमा नै ५ देखि १० प्रतिशत उत्पादन नेपालमा नै बनाउन सक्ने हो भने भविष्यमा नेपालमा नै गाडी उत्पादन वा करिब ६० देखि ७० प्रतिशत लोकल पार्टस्को प्रयोग हुने अवस्था आउन सक्छ ।

विशेषत प्लाष्टिक र फलाम जन्य पार्टस्को उत्पादन नेपालमा नै बढाउँदै लानु पर्ने हुन्छ । त्यसको लागि राज्यले दिने सेवा र सुविधा महत्वपूर्ण हुन्छ । यदि सहायक कम्पनीहरु खुल्दै गएको खण्डमा दिर्घकालीन फाइदा गाडी उत्पादन गर्ने उद्योगबाट राज्यले लिन सक्छ ।

३. लगानी सुरक्षाः कुनै पनि व्यवसायीले आफ्नो लगानी सुरक्षीत नदेखेको क्षेत्रमा लगानी गर्दैन । त्यसमा पनि नेपाल जस्तो नीतिगतरुपमा अस्थिर देशमा लगानी विस्तार गर्नुअघि हरेक उद्योगीले लगानीको सुरक्षा खोज्छ । त्यसको लागि सरकारले लगानी गर्ने उद्योगलाई विशेष उद्योगको दर्जामा राखेर सेवा सुविधा प्रदान गर्नु पर्छ ।

गाडी एसेम्बल गर्ने जस्तो विषय हाम्रो यहाँका उद्यमी व्यापारीले चाहँदैमा संम्भव हुँदैन । यो पूर्णत टेक्नोलोजीमा आधारित उद्योग हो । त्यसका लागि गाडी उत्पादक कम्पनीहरुले नेपालमा व्यवसायीक संभावना देख्नु पर्ने हुन्छ । अहिले नेपालमा बिक्री हुने हुन्डाई, महिन्द्रा र टाटा जस्ता कम्पनीले बेला बखतमा यहाँको सम्भावनालाई नजिक बाट नियाल्दै आएका छन् । सायद त्यसैको परिणाम स्वरुप हुन्डाईले नेपालमा गाडी एसेम्बल गर्न उद्योग नै दर्ता गराई सकेको अवस्था छ । यदि नेपालमा विदेशी गाडी एसेम्बल हुने हो भने नेपालमा प्रविधि पनि भित्रने छ ।

४. राम्रो प्रतिफलः प्रतिफल नआउने क्षेत्रमा लगानी आउँदैन । प्रतिफलको ग्यारेन्टी बजारले निर्धारण गर्छ । त्यसमा पनि नयाँ क्षेत्रमा लगानी गर्दा राज्यले नै आवश्यकताको हिसावले अनुदान, सहुलियत वा छुटहरु प्रदान गर्नु पर्ने हुन्छ । विना राज्यको सहयोग कम्पनीहरुले नेपालमा गाडी उत्पादन सुरु गर्न सक्ने अवस्था छैन । प्लान्ट स्थापनासँगै जोडिएर रोजगारी र कर जस्ता विषय आउने हुँदा यसले दिर्घकालिन रुपमा नेपाललाई फाइदा नै गर्ने छ ।

माथि उल्लेख गरिएका विषयमा सरकार, नीति निर्माता र उद्योगीहरुको एकमत कायम भएको खण्डमा मात्रै नेपालमा गाडी एसेम्बल हुँदै उत्पादनको संभावना खोज्न सकिन्छ । अन्यथा बेला बखतमा समाचारहरुमा बाहेक फिल्डमा गाडी उत्पादन प्लान्ट संम्भव देखिदैन ।


Back_to_top