कति पुगे नेपालमा कार ब्राण्ड ?

काठमाडौं । नेपालमा विद्युतीय कार ब्राण्डको संख्या दुई दर्जनभन्दा बढी भइसकेको छ । अहिलेसम्म बजारमा आएका विद्युतीय कार ब्राण्ड मध्ये थोरै ब्राण्डले मात्रै सफलताको स्वाद चाख्न पाएका छन् ।

चीनमा बग्रेल्ती खुलेका विद्युतीय कार ब्राण्ड नेपाल ल्याउन तँछाड मछाड नै चलिरहेको छ भन्दा फरक पर्दैन । सुरूमा नेपाल आएका बीवाइडी, एमजी, चेरी ब्राण्ड भित्रको न्यू इनर्जी भेहिकल ब्राण्ड ओमोडारजेकोले ईभीमा अहिले राम्रो गरिरहेका छन् ।

चांगान, ग्रेटवाल जस्ता ब्राण्ड पनि नेपालमा पुराना कम्पनी हुन् । चांगानले दीपल ब्राण्डमा उत्पादन भएका विद्युतीय गाडी बिक्री गर्दै आएको छ भने ग्रेटवाल मोटरले ओरा ब्राण्डको विद्युतीय कार बिक्री गर्दै आएको छ । दीपलको सफलता हामी सबैले देखेकै छौं ।

जिकर, लीपमोटर, एक्सपेङ, स्मार्ट, नेटा, अवतार, नामी, सेरेस, दीपल, स्काइवेल, एलइभी, विलिङ, हेनरी, केई, डायुन, एवोन, बीएडब्लू, भोल्ट्स, जेएम ईभी जस्ता ब्राण्डका कार बजारमा उपलब्ध छन् । यी सबै ब्राण्डले कुनै न कुनै मोडल ल्याएर बिक्रीका लागि उपलब्ध गराएका छन् ।

माथि उल्लेख भएका ब्राण्ड मध्ये केही ब्राण्डले मात्रै सर्भिस सेन्टर निर्माण गरेका छन् । पार्टस् उपलब्ध गराएका छन् र डीसी फास्ट चार्जर निर्माणमा काम गरेका छन् । यसले नै धेरैजसो विद्युतीय कार ब्राण्ड लामो रेसका घोडा होइनन् भन्ने बुझ्न कठिन छैन ।

उसो त चीनमा पनि बग्रेल्ती खुलेका कार स्टार्टअप कम्पनीहरू सरकारको टाउको दुखाई बन्दै गएको छ । संख्यात्मक रूपमा धेरै ब्राण्ड भए पनि राम्रो पर्फमेन्स गर्ने ब्राण्डहरू थोरै मात्र भएको कारण चीन सरकारले मर्जरको नीति बनाइरहेको खबरहरू आउन थालेका छन् । यतिसम्मकी चीन सरकारको लगानी रहेको चांगान, जीएसी, डोङफेङ जस्ता ब्राण्डहरू मर्जरको छलफलमा जुटेका छन् ।

चीन आफ्ना अन्तर्राष्ट्रिय बजारमा गाडी बेच्न थालेका कुनै पनि ब्राण्ड बन्द भएको सन्देश दिन चाँहदैन । तर, त्यसको लागि आफू लामो समय लगानी गर्ने मुडमा पनि छैन । त्यसैले सकेसम्म ठूला ब्राण्डमा मर्ज गराउने नीति सरकारले लिने देखिन्छ ।

टिक्लान् सबै ?

अहिले नै यो ब्राण्ड बन्द हुन्छ र यो बाँच्छ भन्ने ठोकुवा गर्न चाँडो हुन्छ । तर, नेपाल जस्तो देशमा चीनबाट अहिले आइरहेका सबै ब्राण्ड बाँच्छन् भन्न सकिँदै सकिँदैन । वार्षिक १२/१३ हजार युनिट कार बिक्री हुने बजारमा चीनबाट मात्रै दुई दर्जन ब्राण्ड आएका छन्, ती सबै टिक्न सम्भव छैन ।

चीन बाहेक पनि टाटा, हुन्डाई, महिन्द्रा, सुजुकी, स्कोडा, टोयोटा, निसान, मित्शुबिसी, माज्दा, सुबरु, रेनो, किया, जीप, फक्सवागेन, फोर्ड, बीएमडब्लू, टेस्ला जस्ता ब्राण्ड बजारमा छन् ।

अझै चीनबाट नियो, फरथिङ, जेटोर, लोटस जस्ता ब्राण्ड नेपाल आउँदै छन् । यस्तोमा बजारमा कुल ५० ब्राण्डका गाडी उपलब्ध हुनेछन् । वार्षिक १२ हजारको कार बजारमा ५० ब्राण्डका गाडी बिक्री हुनु आफैंमा रोचक तथ्यांक हो ।

नेपाली बजारको लागि ११र१२ वटा ब्राण्ड नै काफी हुने देखिन्छ । यस्तोमा कुन कुन ब्राण्ड बन्द हुन्छन्, त्यो समयले नै बताउला । जसले अन्तर्राष्ट्रिय बजारमा राम्रो संख्यामा बिक्री गर्छ ऊ टिक्छ । साथै, नेपालमा पनि उपभोक्ताले मन पराएको ब्राण्ड हुनुपर्छ । उसले दिने सर्भिस, स्पेयर पार्टस् जस्ता कुरा बुझेर किने पछि दुःख पाइँदैन ।


Back_to_top